बिहिबार, ०८ असोज २०८३

नेतृत्व परिवर्तन भएन भने एमालेको भविष्य के हुन्छ ?


काठमाडाैं ।  नेकपा एमाले भित्र अहिले भइरहेकाे बहसले एउटा यथार्थ सार्वजनिक गरेकाे छ -एमाले बदलिन्छ कि एमालेभित्रको असन्तुष्टि मात्र दबाइन्छ?

पार्टीको सचिवालय हुँदै केन्द्रीय कमिटीसम्म आइपुगेको नेतृत्व पुनर्गठनको बहसले एमालेभित्र लामो समयदेखि कायम रहेकाे असन्तुष्टिलाई सतहमा ल्याइदिएको छ। निर्वाचनमा पार्टीले व्यहोरेको धक्कापछि सुरु भएको यो बहस अब केही नेताको असन्तुष्टि मात्र रहेन। ओलीकै निकट रहेर काम गरेका विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरू नेतृत्व र पुस्तान्तरणको प्रश्न उठाउने अवस्थामा पुग्नुले एमालेभित्रको समस्या गहिरो रहेको संकेत गर्छ।

तर प्रश्न यहाँबाट सुरु हुन्छ-यदि यही बहस अन्ततः नेतृत्व परिवर्तनमा पुग्न सकेन भने के हुन्छ?

नेतृत्व परिवर्तनको प्रस्ताव औपचारिक प्रतिवेदनबाट हटाउन सकिन्छ। केन्द्रीय कमिटीको निर्णयबाट त्यसलाई तत्काल रोक्न पनि सकिन्छ। असन्तुष्ट नेताहरूलाई सम्झाउन सकिन्छ। फरक मत राख्नेहरूलाई पार्टी एकताको नाममा एउटै लाइनमा उभ्याउन पनि सकिन्छ। तर एउटा कुरा भने सजिलै रोकिँदैन-पार्टीभित्र उठिसकेको प्रश्न।

एमालेमा अहिले उठेको प्रश्न ओलीको व्यक्तिगत निरन्तरताभन्दा ठूलो हो। प्रश्न हो-एउटै नेतृत्वमा पार्टी कति लामो समयसम्म रहने ? पुरानो पुस्ताको राजनीतिक शैली र नयाँ पुस्ताको अपेक्षाबीचको दूरी कसरी घटाउने? निर्वाचनमा भाेगेकाे परिणामकाे  जिम्मेवारी कसरी लिने? अनि पार्टीलाई नयाँ राजनीतिक वातावरणमा कसरी पुनर्स्थापित गर्ने?

यि प्रश्नकाे जवाफ नदिई केवल नेतृत्व जोगाउने प्रयास भयो भने विवाद समाप्त भएको मान्न सकिँदैन।

प्रतिवेदन हट्यो, प्रश्न हटेन

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले विभिन्न तहबाट सुझाव संकलन गरेको थियो। महासचिव शंकर पोखरेलको प्रतिवेदनमा नेतृत्व पुनर्गठनको विषय आएको थियो। त्यसपछि फरक मतसहित अर्को प्रतिवेदन आयो। अन्ततः नेतृत्व परिवर्तनको विवादित विषयलाई मूल प्रतिवेदनबाट हटाएर सुझावहरूलाई अनुसूचीमा राख्ने सहमति भएको छ।

कागजमा विवाद हटेको देखिए पनि राजनीतिक रूपमा प्रश्न अझै बाँकी छ। त्यसैले अहिले एमालेभित्रको सबैभन्दा ठूलो चुनौती प्रतिवेदन व्यवस्थापन होइन, असन्तुष्टि व्यवस्थापन हो।

नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई चुप लगाएर मात्र पार्टीभित्रको बहस राेकिँदैन। उनीहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ। अझ रोचक कुरा त के छ भने अहिले नेतृत्व परिवर्तन वा पुनर्गठनको बहसमा देखिएका कतिपय नेता केही समयअघिसम्म ओलीका बलिया समर्थक थिए।

राजनीतिमा समर्थक विपक्षी बन्नु आफैंमा असामान्य होइन। तर एउटै समूहका प्रभावशाली नेताहरूले नेतृत्वको शैली र पुस्तान्तरणबारे प्रश्न उठाउन थाल्नु भने पार्टीभित्रको शक्ति समीकरण परिवर्तन भइरहेको संकेत हुन सक्छ।

ओली रहे एमाले चल्छ, तर कसरी?

केपी शर्मा ओली एमालेका निर्वाचित अध्यक्ष हुन्। २०८२ मंसिरमा सम्पन्न ११औँ महाधिवेशनबाट उनी पुनः अध्यक्ष बनेका हुन्। ओलीको तर्क पनि स्पष्ट छ-महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई केही नेताको असन्तुष्टिका आधारमा हटाउन सकिँदैन। विशेष महाधिवेशनको प्रक्रियासमेत पार्टी विधानसँग जोडिएको विषय हो।

त्यसैले तत्काल नेतृत्व परिवर्तन सहज छैन। तर राजनीतिक वैधानिकता र राजनीतिक स्वीकार्यता एउटै कुरा होइनन्।

नेतृत्वसँग वैधानिक अधिकार हुनु एउटा कुरा हो। त्यही नेतृत्वप्रति पार्टीको ठूलो हिस्साको विश्वास र उत्साह कति छ भन्ने अर्को कुरा हो।

यहीँबाट एमालेको भविष्यको प्रश्न आउँछ।

यदि ओली नेतृत्वमै रहने हो भने अब एमालेले एउटा कुरा प्रमाणित गर्नुपर्नेछ-पुरानै नेतृत्वमा नयाँ एमाले सम्भव छ।

त्यसका लागि संगठनमा नयाँ पुस्तालाई स्थान दिनुपर्ने हुन्छ। निर्णय प्रक्रियालाई संस्थागत बनाउनुपर्नेछ। फरक मतलाई शत्रुता होइन, पार्टीभित्रकै लोकतान्त्रिक अभ्यासका रूपमा ग्रहण गर्नुपर्नेछ। निर्वाचनको हार वा धक्काको वस्तुगत समीक्षा गर्नुपर्नेछ। र सबैभन्दा महत्वपूर्ण, पार्टीलाई केवल नेतृत्वको वरिपरि घुम्ने संरचनाबाट बाहिर निकालेर संस्थागत बनाउनुपर्ने चुनौती हुनेछ।

अन्यथा नेतृत्व परिवर्तन नभए पनि नेतृत्वको प्रश्न पटक–पटक उठिरहनेछ।

असन्तुष्टि दबिएर बस्दैन

नेपालका कम्युनिस्ट पार्टीहरूको इतिहास हेर्दा एउटा कुरा देखिन्छ-पार्टीभित्रको असन्तुष्टि लामो समयसम्म दबाएर राख्न सकिन्छ, तर सधैंका लागि दबाउन सकिँदैन।

आज एउटा नेता चुप लाग्ला। भोलि अर्को नेता बोल्ला। आज सचिवालयले एउटा प्रस्ताव थन्क्याउला। भोलि केन्द्रीय कमिटीमा त्यही प्रश्न फेरि उठ्न सक्छ। आज नेतृत्व परिवर्तनको मागलाई ‘असमयको बहस’ भनिएला। भोलि त्यही विषय महाधिवेशनको मुख्य एजेन्डा बन्न सक्छ।

एमालेभित्र अहिले त्यही जोखिम देखिन्छ।

केन्द्रीय कमिटीमा समेत अध्यक्षको कार्यशैली र पार्टी सञ्चालनको प्रक्रियामाथि प्रश्न उठेका छन्। केही नेताले अध्यक्षको अधिकारको प्रयोग र बैठक सञ्चालनको शैलीमाथि आपत्ति जनाएकाे घटना सार्वजनिक हुनु आफैँमा गम्भीर विषय हाे ।

यसलाई व्यक्तिगत विवादका रूपमा मात्र बुझियो भने एमालेले समस्याको गहिराइ झन धेरै बढ्ने निश्चित छ ।

अर्को चुनावसम्म पुग्दा के होला?

राजनीतिक दलको जीवनमा नेतृत्व परिवर्तन आफैंमा अन्तिम समाधान होइन। नेतृत्व बदलिँदैमा पार्टी बलियो हुन्छ भन्ने निश्चित छैन। त्यस्तै, नेतृत्व नबदलिँदैमा पार्टी कमजोर हुन्छ भन्ने पनि स्वतः निष्कर्ष निकाल्न मिल्दैन।

तर अहिले एमालेसामु एउटा स्पष्ट राजनीतिक चुनौती भने छ-निर्वाचनको धक्कापछि पार्टीले आफूलाई कसरी पुनर्निर्माण गर्छ?

यदि नेतृत्व परिवर्तन सम्भव भएन भने कम्तीमा नेतृत्वको कार्यशैली परिवर्तन हुन्छ कि हुँदैन? यदि पुस्तान्तरण तत्काल सम्भव छैन भने पुस्तान्तरणको स्पष्ट बाटो बनाइन्छ कि बनाइँदैन?

यदि अध्यक्ष परिवर्तन हुँदैन भने दोस्रो तहका नेताहरूलाई भविष्यको नेतृत्वका रूपमा विकसित गर्ने वातावरण बनाइन्छ कि बनाइँदैन?

यदि यी प्रश्नको जवाफ नदिइकन केवल ‘पार्टी एकताबद्ध छ’ भन्ने घोषणा गरियो भने त्यो घोषणा र पार्टीभित्रको वास्तविक मनोविज्ञानबीच दूरी बढ्न सक्छ।

एमालेको सबैभन्दा ठूलो सम्पत्ति र चुनौती

एमालेको ठूलो शक्ति भनेको उसको देशव्यापी संगठन र लामो राजनीतिक अनुभव हो। तर यही संगठनलाई नयाँ राजनीतिक पुस्ताको अपेक्षासँग जोड्न नसक्नु चुनौती बन्न सक्छ।

आजको मतदाता हिजोको मतदाता होइन। सामाजिक सञ्जाल, नयाँ राजनीतिक शक्ति, नयाँ पुस्ताको राजनीतिक चेतना र परम्परागत दलप्रतिको प्रश्नले नेपालको राजनीतिलाई बदलिरहेको छ।

यस्तो अवस्थामा एमालेले आफूलाई केवल ‘पुरानो र स्थापित शक्ति’ भनेर प्रस्तुत गरेर पुग्दैन।

उसले देखाउनुपर्ने हुन्छ-स्थापित हुनु र समयअनुकूल हुनु एउटै कुरा होइन।

यदि नेतृत्व परिवर्तन हुँदैन भने एमालेका लागि वास्तविक परीक्षा त्यही हुनेछ।

ओली नेतृत्व कायम रहनु वा नरहनु एउटा राजनीतिक निर्णय हुन सक्छ। तर त्यसपछि पार्टी कसरी चल्छ, फरक मतलाई कसरी व्यवस्थापन गर्छ, नयाँ पुस्तालाई कति ठाउँ दिन्छ र निर्वाचनको सन्देशलाई कति गम्भीरतापूर्वक लिन्छ—यी प्रश्नले एमालेको आगामी यात्रालाई बढी प्रभावित गर्नेछन्।

अन्ततः प्रश्न ओलीको मात्र होइन

एमालेको वर्तमान संकटलाई केवल ‘ओली हटाउने कि नहटाउने’ भन्ने दुई विकल्पमा सीमित गर्नु शायद समस्यालाई सानो बनाउनु हो।

किनभने आजको प्रश्न ओलीपछि को भन्ने मात्र होइन।

प्रश्न हो-ओलीसहितको एमाले कस्तो हुन्छ? ओलीपछि आउने एमाले कस्तो हुन्छ? र सबैभन्दा महत्वपूर्ण, एमाले आफैं कस्तो हुन्छ?

यदि नेतृत्व परिवर्तन सम्भव भएन भने एमालेका लागि त्यसको अर्थ राजनीतिक यात्रा समाप्त हुनु होइन। तर त्यसको अर्थ पार्टीले अब आफूलाई नयाँ ढंगले प्रमाणित गर्नुपर्ने अवस्था आउनु हो।

नेतृत्व जोगाउन सक्नु एउटा उपलब्धि हुन सक्छ। तर नेतृत्व जोगाएर पार्टी जोगाउन सकिन्छ कि सकिँदैन—त्यो नै वास्तविक परीक्षा हो।

केन्द्रीय कमिटीको बैठकले अहिलेको विवादलाई थन्क्याउन सक्छ। तर प्रश्नलाई थन्क्याएर मात्रै भविष्य सुरक्षित हुँदैन।

किनभने राजनीतिमा निर्णयहरू बैठकले गर्छन्, तर इतिहासको फैसला जनताले गर्छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ