- असार ०६, २०८०
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।
उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ ।
सभापति लमिछाने भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका हुन् ।
मंगलबार दिउसाे लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको थियाे।
भाजपा मुख्यालयमा मंगलबार उनीहरूबीच भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदानप्रदान भएको भाजपाले जनाएको छ । भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नवीनलगायत वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको थियाे ।
प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत–नेपालबीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पारेका थिए । उनले यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउनुका साथै भाजपा र रास्वपाबीचको पार्टीगत सम्बन्धलाई अझ गहिरो बनाउन सहयोग पुग्ने बताएकाे भाजपाले जनाएको छ । अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, सङ्गठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागितासम्बन्धी दृष्टिकोणबारे जानकारी गराएका थिए ।
भेटवार्ताका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्ताको पहिचान र उनीहरूसँग सम्पर्क विस्तार गर्ने संयन्त्रबारे विशेष चासो व्यक्त गरेको थियो ।
यसका साथै अध्यक्ष नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अवलम्बन गरिएको विकासमुखी सुशासन मोडेलबारे पनि चर्चा गर्दै विकास, सेवा, सुशासन तथा कल्याणकारी सेवा प्रवाह भाजपा सरकारको शासन प्रणाली र जनसम्पर्क रणनीतिको केन्द्रमा रहेको उल्लेख गरेका थिए । उक्त भेटवार्तामा अध्यक्ष नवीनसँगै भाजपा राष्ट्रिय महामन्त्री अरुण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज तथा भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवाले पनि सहभागी थिए ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी नीकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।
टिप्पणीहरू: