आइतबार, ०७ मंसिर २०८२

कांग्रेस निर्वाचनमा जाने भएपछि दवावमा एमाले


काठमाडौं । बिगतको सत्ता साझेदार दल नेपाली कांग्रेस निर्वाचनमा सहभागी हुने भएपछि नेकपा एमाले दवावमा परेको छ । संसद पुर्नस्थापनाको मागलाई जोड तोडले उठाउदै आएको एमाले कांग्रेसले आफ्नो पार्टीसँग सहकार्य नगर्ने भएपछि एक्लिएको हो ।

विभिन्न सभा समारोह मार्फत अन्तरिम सरकारका प्रधानमन्त्रीविरुद्ध उत्तेजक अभिव्यक्ति दिँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिलाई समेत कांग्रेसका केही नेताले ‘नोट’मा राखेपछि एमाले नेता चिन्तित छन् । कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस चुनाव सहभागी हुने भन्दै एमालेका केही नेताले भड्कावयुक्त अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए । उनको अभिव्यक्ति ओली केन्द्रित थियो ।

कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओली डेढ वर्ष अघि प्रधामन्त्री नियुक्त भएका थिए । संविधान संसोधन र सुशासनलाई प्रमुख एजेण्डा बनाएका सरकार एक वर्षसम्म एजेण्डामै प्रवेशै नगरेपछि जेनजी विद्रोह भएको थियो । जेनजी विद्रोहमा तत्कालिन प्रधानमन्त्री ओली ज्यान जोगाउन सेनाको हेलिकोप्टर चढेर बालुवाटारबाट भागेका थिए भने देउवा जेनजीको आक्रमणमा परेका थिए ।

दुबै पार्टीका शीर्ष नेतृत्व जेनजीको निशानामा परेकाले पनि आगामी दिन दुई पार्टीबीच सहकार्यको अपेक्षा बढेको थियो । तर, एमाले चुनावका सन्दर्भमा अनावश्यक र उत्तेजक टिप्पणी गरेपछि कांग्रेसले एमालेसँगको सहकार्यलाई पूर्णविराम लगाउने भएको छ ।

ओली र देउवाबीच सत्ता सहकार्य मात्रै होइन आगामी निर्वाचनमा निश्चित क्षेत्रमा सहकार्य गरेर उम्मेदवारी दिने समेत योजना थियो । कांग्रेस महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापाले कुनै हालतमा एमालेसँग सहकार्य गर्न नहुने कुरा जोड तोडले उठाएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको अगुवाईमा संसद पु्र्नस्थापनाका लागि केही निवर्तमान सांसदको हस्ताक्षर अभियान समेत सुरु भएको थियो । तर, आइतबारको बैठकले कांग्रेस चुनावमा सहभागी हुने निर्णय गरेपछि हस्ताक्षर अभियान रोकिएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ