- भदौ ०२, २०८१
काठमाडाैँ। कतिलाई लाग्दो पनि हो- एमाले सर्वाधिक बलियो पार्टी हो। अहिले सरकारको नेतृत्व गरिरहेको छ। शीर्ष नेतृत्व २०८४ को चुनावमा बहुमत ल्याउने कुरा गर्दैछन्। एमालेप्रति आस्था राख्ने कतिपय कार्यकर्तालाई लागेको होला, ‘नेताहरुले भनेजस्तै हुन्छ।’ तर, होइन। एमाले अहिले गम्भीर संकटमा छ। यो संकटबाट सहजै पार पाउने सम्भावना देखिँदैन। किनकी अहिले संकटको सुरुवात मात्रै हो। आगामी दिनमा संकट गम्भीर हुँदै जान्छ र अझै केही वर्ष कायम रहन्छ।
संकट गम्भीर हुने संकेत कतिपय घटनाक्रमबाट देखिएकाले यत्ति भन्न सकिन्छ। एमाले कार्यकर्ताले संकटमुक्त हुनका लागि कम्तिमा १२औँ महाधिवेशन कुर्नुपर्छ। १२औँ महाधिवेशन केपी शर्मा ओली, शंकर पोखरेल वा प्रदीप ज्ञवालीहरुले चाहेजस्तो हुने छैन। शीर्ष नेतृत्वमा अहिलेकै प्रवृत्ति कायम रहँदा पहिलो, दोस्रो पुस्तालाई एकै झमटमा बिदाइ गर्दै तेस्रो पुस्ताका महेश बर्तौला, पदम गिरीहरुले नेतृत्वमा हस्तक्षेप गर्नेछन्, त्यसपछि फेरि एकपटक एमाले जाग्ने छ।
सत्तामाकै लागि अहिले कांग्रेसको बुईमा बसेकाे एमालेले बुई चढ्ने र बुईमा बसाउने खेल अझै धेरै खेल्न बाँकी नै छ। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा वा अन्य जोसुकैलाई बुई चढाउन र बुईमा बस्न एमालेलाई लाज लाग्दैन। बुई चढ्न चढाउन निती सिद्धान्त मिल्न जरुरी छैन। ‘सुशासन र स्थायित्व’ यही नाराको आडमा बुई चढिरहन्छ। चढाइरहन्छ।
भर्खरैको एउटा घटना सम्झौं न- एमालेको भातृसंगठन युवा संघ काभ्रेमा पार्टी अध्यक्ष केपी ओलीको आदेशविपरीत समानान्तर कमिटी गठन भएको छ। ओली पक्षसँग असन्तुष्ट समूहको भेलाले एकपक्षीय रुपमा ११औँ जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
बागमती प्रदेश अध्यक्ष हरिशरण जमरकट्टेल र काभ्रे इन्चार्ज सागर रायमाझीले अधिवेशन स्थगित गर्न दिएको निर्देशनविपरीत सीवी लामाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ। लामा विद्या भण्डारीनिकट मानिन्छन्। याे त सुरवात हाे। धेरै जिल्लामा यहि रित दाेहाेरिन बाँकी नै छ।
पूर्वराष्ट्रपतिको सुविधा त्यागेर सक्रिय राजनीतिमा आउने तयारी गरेकी भण्डारीको केन्द्रीय कमिटीले पार्टी सदस्यता नवीकरण नै खारेज गरेपछि अहिले एमालेभित्र भण्डारी र ओली पक्षीयबीच कित्ताकाट सुरु भएको छ। पार्टी नेतृत्वको निर्देशनविपरीत अधिवेशन वा नयाँ नेतृत्व पार्टीका लागि सह्य हुँदैन। कम्युनिष्ट पार्टीमा त हुने कुरै भएन। जो समानान्तर कमिटी गठन गर्न लागिरहेका छन्, उनीहरु स्वयंलाई पनि जानकारी छ- ‘यसो गर्दा कुनै पनि बेला कारबाहीमा पर्न सकिने छ। तर, पनि गरिरहेका छन्। विद्यार्थी संगठन, युवा संघलगायत अन्य भातृ संस्थाहरुका नेतृत्वको निर्देशनविपरीत घटनाहरु बढ्नु भनको नेतृत्वप्रति विश्वसनीयताको अभाव त हो नै, पार्टीका लागि संकट पनि हो।
पुस्तक विमोचन कार्यक्रमको अतिथि हुँदासमेत अध्यक्ष ओलीले ०८४ को चुनावमा बहुमत ल्याउनेगरी पार्टी अघि बढेको कुरा गर्छन् तर, पछिल्लो समय पार्टीभित्र असन्तुष्टि बढ्दै गएको देख्दा लाग्छ- एमालेका उम्मेदवारहरु निर्वाचनमा पराजित हुनका लागि अब दोस्रो पार्टीको जोडबल उति धेरै आवश्यक छैन।
संविधान सभाको पहिलो निर्वाचनमा एमालेले एउटा चुनावी नारा बनाएको थियो, ‘फेरि पनि सूर्य फेरि पनि एमाले।’ उही शैली दोहोर्याउँदै अहिले ‘फेरि पनि ओली’ भन्ने भाष्य स्थापित गर्ने तयारीमा छन् तर, आम कार्यकर्तालाई मन परिरहेको छैन। तलका कुरा नसुन्ने, माथिबाट निर्देशन लाद्ने जुन प्रवृत्ति देखिएको छ, यो परिदृश्यले एमालेलाई थप कमजोर बनाएको छ।
आलोचनालाई पटक्कै सुन्न नचाहने ओली प्रवृत्तिकै कारण हो अहिले ओलीको वरिपरि बस्नेहरुले सही के हो, गलत के हो भन्ने भेद छुट्याउन छाडेका छन्। ‘के भन्दा ओली खुसी हुने हुन्?’ प्रायको ध्याउन्न त्यसैमा केन्द्रित हुँदा पार्टी थप कमजोर हुन पुगेको छ।
भण्डारीले दिएको तनाव
एमालेमा केपी ओली र विद्या भण्डारीको सम्बन्धबारे धेरै किस्सा छन्। भण्डारीलाई दुईदुई पटक राष्ट्रपति बनाउँदा ओलीले लगाएको गुनको बद्लामा भण्डारीले ओलीले गरेका संसद् विघटनलगायत कतिपय हर्कतलाई सर्लक्कै सघाएको घाम जत्तिकै छर्लङ्ग छ। तर, ती घटनाक्रम अब इतिहास भइसके।
अब ओली-विद्या गुनका बद्ला गुनका अवस्थामा रहेनन्। भण्डारीले पूर्वराष्ट्रपतिको सेवा सुविधा त्यागेर मैदान उत्रिनुको अर्थ ओलीलाई थकाई मार्ने अवस्था सिर्जना गर्नकै लागि थियो तर, ओलीलगायत टिमले नवीकरण भइसकेको उनको सदस्यता खारेज गरेर पार्टीभित्र आन्तरिक युद्धको वातावरण सिर्जना गरेका छन्।
सदस्यता खारेज हुँदा पनि भण्डारीले जुन सक्रियता देखाइरहेकी छिन्। जसरी एमाले नेताकार्यकर्ता भेटघाट गर्दै हिँडेकी छिन्, अहिले एमालेका लागि सबैभन्दा ठूलो चुनौती यही नै हो। यद्यपि, भण्डारी नेतृत्वका लागि अतिरिक्त क्षमता वा चामत्कारिक व्यक्ति भएकी पात्र होइनन् तर, पनि उनका समर्थकहरु बढिरहेका छन्।
कुनै समय ओली गुटमै रहेकी भण्डारी अहिले ओलीको समानान्तर शक्ति बन्नुको खास कारण ओली नै हुन्। यदि ओलीले पार्टीमा आफ्नो गाथा गाउनेलाई च्याप्ने, प्रशंसा गर्नेहरुलाई जिम्मेवारी दिने र आलोचना गर्नेलाई पेल्न काम नगरेको भए भण्डारी टाउको दुखाइको विषय बन्ने थिइनन्। ओलीकाे त्यही प्रवृत्तिका कारण अहिले भण्डारी पार्टीका पीडितहरुकाे अभिभावक बनेकी छिन्।
नेतृत्व तेस्रो पुस्तामा
कतिपयलाई लाग्न सक्छ, ओली-विद्या टकराबले एमाले थप कमजोर हुन्छ। हो, अब हुने एमाले थप कमजोर नै हो। तर, यही कमजोरीले एमालेलाई बलियो शक्ति पनि बनाउँछ। ११औँ महाधिवेशनले पनि सम्भवत: अध्यक्षको जिम्मा ओलीलाई नै दिइन्छ। फेरि ओली अध्यक्ष हुनु भनेको शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा ‘बादल’लगायत सचिवालयमा भएकाहरु ओलीसँगै रिटायर्डका लागि मार्ग प्रशस्त हुनु हाे।
अहिले ओलीका वरिपरि बस्नेहरु जो छन्, यी कसैमा पनि अध्यक्ष बन्ने हिम्मत छैन। एमालेको १२औँ महाधिवेशनमा ओलीको वरीपरी बस्नेहरुलाई अध्यक्षका रुपमा कसैले स्विकार्ने छैन। अब हुने भनेको तेस्रो पुस्ताले नेतृत्व गर्ने हो। जब अहिलेकाे तेस्राे पुस्ताले नेतृत्व दाबी गर्छ, तब एमाले फेरि एकपटक सुध्रन्छ।
गठबन्धन निल्नु न ओकल्नु
सुशासन र संविधान संशाेधनलाई प्रमुख एजेण्डा बनाएर गठन भएको सरकारले १४ महिना पार गर्यो। यो अवधिमा न सुशासनमा प्रगति भयो, न त संविधान संशाेधनका लागि छलफल नै अघि बढ्यो। लिचीबारीलगायत विभिन्न काण्डहरुमा जोडिएका मन्त्रीका कारण सरकार थप बद्नाम भयो।
‘जोगीदेखि भैंसीलाई डर, भैंसीदेखि जोगीलाई’ भनेझैँ कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली दुबै जना त्रासमा छन्। उनीहरूको भाषण नै सुने पुग्छ। कम्तिमा १५ दिनमा एकपटक भनिरहेका हुन्छन्, ‘यो गठबन्धन ०८४ सम्म जान्छ।’
अहिले दुबै दलका शीर्ष नेतृत्वलाई एउटा मात्रै चिन्ता छ, गठबन्धन कसरी जोगाउने ? जब दुई ठूला प्रमुख दलको मुख्य ध्याउन्न नै गठबन्धन जोगाउन केन्द्रित हुन्छ भने सुशासनको अपेक्षा गर्ने ठाउँ हुँदैन।
टिप्पणीहरू: