बुधबार, ३१ भदौ २०८३

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन हुने


चितवन । कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने भएको छ ।
 
त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते  यातायात सेवा  सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो ।
 
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार आज साँझसम्ममा सबै काम सकिने छ । आजै ग्राबेल र नालीको काम भइरहेको छ । उनले भने, “साँझसम्ममा हामी सबै काम सक्छौँ”, “स्थानीय बेनिघाट रोराङ गाउँपालिकाले सडकमा ‘फ्लडलाइट’ जडान गर्दैछ । यससँगै रातिमा सवारी सञ्चालन गर्न सहज हुनेछ ।”

पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा बिहीबार बिहान ६ः०० बजेदेखि पूर्णरुपमा यातायात सञ्चालन गरिने जनाइएको छ । नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकोमा मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको कामलाई अन्तिम चरणमा पु-याएको सूचनामा जनाइएको छ ।
 
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले साँझसम्ममा काम सम्पन्न भएमा रोकिएका गाडी आजै पार गराउने बताए । उनले भने “साँझसम्मको प्रगतिको समीक्षा गरी रोकिएका सवारी पार गराउँछाैँ ।” बिहीबार बिहानदेखि दुईतर्फीनै सवारी सञ्चालन हुने उनले बताए ।
 
कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ छुट्ने छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा सवारी सञ्चालन हुने भएमा तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिने बताए । लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी जान आउन पाएका छैनन् । त्यसका कारण राजधानीमा एलपी ग्यासको अभाव देखिएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ