सोमबार, १९ साउन २०८२

बाढीपहिरोले गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध, सचेत रहन आग्रह


गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । 

कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।  लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोला र वडा नं –५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिए । 
 
उक्त क्षेत्रमा अहिले पनि लगातार रुपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ ।

 जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका  बासिन्दालाई सर्तकता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई  बाढीपहिरोको उच्च जोखिममा राखेको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ