- असार ०६, २०८०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई, सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकारसमक्ष माग राखेकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मीक समयमा बोल्दै सांसद कार्कीले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आएकी गर्भवती बबिताकुमारी पासवानलाई अस्पतालले बेवास्ता गरेपछि सडकमै बच्चा जन्माउनुपरेको घटनाबारे सरकारसमक्ष ध्यानर्कषण गराएकी हुन् । उनले अस्पतालमा आएकी प्रसव पीडामा छट्पटाइरहेकी महिलालाई अस्पतालले तुरुन्तै भर्ना गर्नुपर्ने बताउदै यस्तो घटना अब दोहोरिन नदिन र अस्पतालले बबितामाथि गरेको अमानवीय व्यवहारप्रति छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिन् ।
सांसद कार्कीले अस्पतालहरुमा ‘नो डिनायल इन लेवर’ नीति तुरुन्तै लागू गराउनुपर्ने समेत बताइन् । उनले आमा सुरक्षा कार्यक्रममा ‘फ्रि डेलिभरी’ कार्यक्रम खाली बच्चा जन्माउने काममा मात्रै नभई गर्भवती भएपछि बच्चा जन्माउनेसम्मको समग्र प्रक्रियामा आमा सुरक्षा कार्यक्रम निःशुल्क व्यवस्था राज्यले गर्नुपर्ने बताइन् ।
टिप्पणीहरू: