बुधबार, २९ असोज २०८२

जेनजी आन्दाेलनमा हराएका थुक्तेन अझै भेटिएनन्


सिमकोट (हुम्ला) । नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता  छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उनी बेपत्ता हुनुभएको र अझै सम्पर्कमा नआएकाे थुक्तेनको परिवारजनले बताएका छन् । 

चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए। नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए । उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठामा पुगेका थिए । 

भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताए । बेपत्ता छोराको खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन् । बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन् । थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ