आइतबार, ०८ चैत २०८२

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका कुलुङको शव सङ्खुवासभा ल्याइयो


किमाथाङ्का (सङ्खुवासभा)। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीरलाई सङ्खुवासभा ल्याइएको छ। 

नेपाली सेनाको हेलिकप्टमार्फत् कुलुङको शव आज बिहान ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए। प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो।

सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरिरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए।

श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई शव बुझाइएको थियो। सिलिचोङ–३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार कुलुङको अन्त्येष्टि गरिने सिलिचोङ गाउँपालिका अध्यक्ष मेवाहाङले बताए।

किशोर कुलुङका छोराहरुमध्ये प्रवीन माइला भएको जनाइएको छ। प्रवीनको निधनले सिलिचोङसहित सङ्खुवासभामा शोकमा ढुबेको छ। स्थानीयहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ