शुक्रबार, १३ कात्तिक २०८३

महँगीविरुद्ध इटालीमा विद्यार्थीकाे प्रदर्शन


राेम ।  शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् ।

विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध गरेका छन् । ट्रक चालक र किसानले पनि इन्धनको मूल्य वृद्धि तथा जीवनयापनको लागतविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

रोमस्थित काभोर विद्यालयकी विद्यार्थी सङ्गठनकी प्रवक्ता १८ वर्षीया लौरा टेरेसीले शुक्रबार ठूलो सङ्ख्यामा विद्यार्थी सडकमा उत्रने र विद्यालय अवरुद्ध गर्ने बताइन् । मिलानमा अक्टोबर १७ र १८ मा युवाहरूले सवारीसाधनमा आगजनी र पसल लुटपाट गरेकाले अधिकारीहरू पुनः हिंसा भड्किन सक्नेमा चिन्तित छन् ।

प्राध्यापक रोजारियो फोर्लेन्जाका अनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक सङ्कटले युवाहरूमा अनिश्चितता र भविष्यप्रतिको निराशा बढाएको छ । राजनीतिक रूपमा पर्याप्त प्रतिनिधित्व नपाएको र नेतृत्वले आफ्ना समस्या बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

यसैबीच, वामपन्थी श्रमिक सङ्गठन युएसबीले शुक्रबार आमहडताल आह्वान गरेको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न नाबालिगलाई हिरासतमा लिने प्रक्रिया सहज बनाउनुका साथै सार्वजनिक जमघटसम्बन्धी कानून कडा पारेको छ ।

मध्यपूर्वको युद्धका कारण इन्धन महँगिएपछि प्रभावित ट्रक चालक, किसान र माछा मार्नेहरूका लागि सरकारले १७ करोड ५२ लाख युरोको सहायता प्याकेज स्वीकृत गरेको छ । सन् २०२७ को प्रस्तावित बजेटमा ३० वर्षमुनिका श्रमिकलाई वार्षिक दुई हजार ५०० युरो बोनस दिने योजना पनि समेटिएको छ ।

प्रधानमन्त्री मेलोनीले सरकारी उपायले राज्यबाट उपेक्षित महसुस गरिरहेका युवालाई सहयोग पुग्ने आशा व्यक्त गरेका छन् । तर, तोडफोडमा संलग्न हुनेहरूका लागि ती सुविधा नभएको उनले बताए ।

मनोचिकित्सक म्याटिओ लान्सिनीले विद्यालयहरू युवाका आवश्यकताबाट टाढिएको बताउँदै पेन्सन प्रणालीभन्दा युवाको आवश्यकता केन्द्रमा राखेर शैक्षिक प्रणालीमा आधारभूत परिवर्तन गर्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जाललाई मात्र दोष दिएर युवाको असन्तुष्टिको वास्तविक कारणबाट उम्कन खोजिएको उनको टिप्पणी छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ