- असार ०६, २०८०
काठमाडाैं । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्नका लागि उनले सभामुखसँग समय मागेका छन् ।
कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान गरेर जिम्मेवार ठहर गरेको थियो ।
छानबिन समितिको प्रतिवेदनले सभापति खतिवडाका विषयमा भनेको छ, ‘परिमार्जित मस्यौदा प्रतिवेदन समितिका माननीय सदस्यहरूलाई देखाई छलफल गरी सभामा पेस गर्नु पर्नेमा सो नगरी निश्चित व्यक्तिहरूबीच अनौपचारिक बैठक बसी मिति २०८२/०२/१३ मा प्रतिवेदन पठाएको देखिँदा माननीय सभापतिको समन्वयकारी भूमिकामा कमी भएको देखियो ।’
प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेश भएको देखिँदा कानुनत: हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले ‘उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन’ भन्ने पनि प्रतिवेदनमा छ ।
त्यस्तै समिति सचिव दुराबारे छानबिन समितिको प्रतिवेदनले भनेको छ, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज कुमार दुरा सचिवको हैसियतले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै रहेको र प्रतिवेदन लेखे समेत भूमिका रहेको देखिँदा परिभाषित जिम्मेवारी पूरा गरेको भन्न सकिएन ।’
टिप्पणीहरू: