शुक्रबार, ०९ माघ २०८२

रविलक्ष्मीले दाहिने हात काटेर ओली र देउवालाई दिएको सन्देश


काठमाडाैँ। पूर्वप्रधानमन्त्रीसमेत रहेका कम्युनिष्ट नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार अहिले उपचारको क्रममा छिन्। लामो समय अस्पतालको बसाइपछि घर फर्किएकी चित्रकारले ज्यान बचाउनकै लागि दायाँ हात गुमाइन्। तर, पनि शरीर पूरै निको भइसकेको छैन। बाहिरी र भित्री घाउ बाँकी नै छ। थप उपचारका लागि मासिक केही हजार रुपैयाँ नियमित खर्च गरिरहनुपर्छ।

लामो समय प्राध्यापन पेशामा रमाएकी चित्रकार नातामा चर्चित नेताकी श्रीमती थिइन्। तत्कालीन मालेका महासचिव, तत्कालीन एमाले पार्टीका अध्यक्ष र पूर्वप्रधानमन्त्रीकी श्रीमती। अन्य कतिपय नेताका श्रीमतीले जस्तै लोग्नेको आडमा समानुपातिक सांसद, कुनै सरकारी अड्डाको अध्यक्ष, महाप्रवन्धक वा अन्य कुनै पनि लाभको पदमा रमाउन चाहेको भए उनलाई कसैले छेक्दैन थिए। तर, कहिल्यै त्यसो गरिनन्। चक, डष्टर समाएरै जिन्दगी बिताइन्। श्रीमतीकै कारण नेता खनालले कुनै खालको अभियोग सामना गर्नुपरेन। यस अर्थमा खनाल भाग्यमानी हुन्।

यिनै भलाद्मी नेता खनाललाई भदौ २३ र २४ मा भएको जेन्सी आन्दोलनले कहिल्यै नबिर्सने चोट दिएर गयो। सुशासनका लागि भन्दै आन्दोलनमा होमिएका जेनजीहरुकै एउटा समूहले खनालको घरमा आगो लगायो र उनकी श्रीमती रविलक्ष्मीको शरीरमा आगो झोस्यो। रविलक्ष्मीमाथि भएको ज्यादतीलाई कुनै पनि कोणबाट आन्दोलन भन्न सकिन्न। यदि मुलुकमा साँच्चै लोकतन्त्र थियो भने रविलक्ष्मीको शरीरमा आगो झोसेर अपराध गर्नेहरु अहिले जेलको चिसो छिँडीमा हुनुपर्थ्याे। तर, त्यो हुँदैन।

जेनजी आन्दोलनकै बलमा बनेको सरकारले रविलक्ष्मीको शरीरमा आगो झोस्नेलाई अभियुक्त देख्दैन। २४ गतेको घटनालाई जो आन्दोलन होइन, आतंक हो भनिरहेका छन् (केपी शर्मा ओली र शेरबहादुर देउवा), उनीहरु पनि रविलक्ष्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर भन्न जाँगर लगाउँदैनन्। किनकि नेता खनाल जोडिएको पार्टीको खास प्रभाव छैन। उनी फेरि राजकीय सत्तामा फर्किने सम्भावना देखिँदैन। सबैभन्दा महत्वपूर्ण अहिले खनाल ओली-देउवाभन्दा फरक पार्टीमा छन्।

रविलक्ष्मीमाथिको आक्रमण व्यक्तिगत हाेइन, उनीमाथि कुनै आग्रह पूर्वाग्रह राखेर आक्रमण गरिएको थिएन। आक्रमण भएको थियो त केबल नेताको श्रीमनी भएवापत्। सत्ताघटक दलहरुको अकर्मण्यताको मार रविलक्ष्मीले खेपिन्। हरेक चुनावमा मिठा शब्द लेख्ने तर, व्यवहारमा कहिल्यै कार्यान्वयन नगर्ने दलहरुको व्यवहारविरुद्धको आक्रोश थियो। सुशासनका गफ ठूलो स्वरमा दिने तर, सुशासन कायममा पटक्कै ध्यान नदिने प्रवृत्तिकाविरुद्ध थियो।

ठूला र पुराना भनिने दल नेपाली कांग्रेस र नेकपा एमालेले भदौ २३ र २४ भएको जेनजी आन्दोलनलाई आन्दोलन होइन, आतंक हो भनेर दाबी गरिरहेका छन्। यदि आतंक मात्रै हो भने पनि यो थिति उत्पन्न हुनुमा ‘हाम्रो पनि हात थियो’ भनेर ओली-देउवाले एकरत्ति पनि महसुस गरेका छैनन्। भदौ २४ गते सडकमा आतंकवादीहरु निस्केका थिए भने पनि एउटा यथार्थ बिर्सन हुँदैन, यो दिन ल्याउनमा ओली–देउवाको भूमिका अहम् छ।

अहिले कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेशवादी दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा मिलेर मत हाल्ने सहमति भएको छ। प्रतिनिधिसभा निर्वाचनमा पनि यही प्रणाली लागू नहोला भन्न सकिन्न। यदि पुराना पार्टीहरुले गठबन्धन गरेर अघि बढे भने मुलुकले अर्को ठूलो दुर्घटना बेहोर्न धेरै दिन कुर्न पर्दैन।

कांग्रेस र एमाले सैद्धान्तिक रुपमा फरक सिद्धान्त र आस्था बोकेका पार्टी हुन्। उनीहरुले व्याख्या गर्दै आएको नीति, विचार र सिद्धान्तले पनि उनीहरुका व्यवहार फरक हुनुपर्छ। अन्य सवालमा आफूलाई फरक दाबी गरे पनि सत्ताको भर्याङ चढ्ने सवालमा उनीहरुले ‘हामीहरु लगभग उस्तै हो’ भन्ने भाष्य स्थापित गर्दैछन्। जुन भाष्य नेपाली समाजको एउटा वर्ग मान्न तयार छैन।

यदि प्रतिनिधिसभा निर्वाचनमा फेरि पनि कांग्रेस-एमालेबीच साँठगाँठ वा सहकार्य भयो भने आश्चर्य हुने छैन। दोस्रो र तेस्रो तहका नेताले गठबन्धनको विरोध उती सारो गर्ने छैनन्। जो टिकटका दाबेदार छन्, तिनलाई आश हुनेछ। फेरि चुनाव जितिने छ र सत्तामा फर्किन सजिलो हुनेछ।

प्रदेशदेखि वडासम्म यही सन्देश प्रवाह हुनेछ। संघमा टिकट नपाएर के भो त प्रदेशदेखि स्थानीय तहसम्म टिकटको आश गरेकाहरुले मातहतका कार्यकर्तालाई भन्ने छन्, ‘पार्टी र राष्ट्र संकटमा परेको बेला मिलेर जानु बाध्यता हो।’

पार्टीमै लागेर करिअर बनाउँछु भनेर हिँडेकाहरु ती कुरामा सहमत हुनेछन्। शीर्ष नेतृत्वले तोकेको व्यक्तिलाई विजयी गराउनका लागि वडासम्मै लाग्नेछन्।

नेपाली समाजको चरित्र र आम सर्वसाधारणको चुनावप्रतिको पछिल्लो रुझान हेर्दा आउँदो चुनाव पुराना दलहरुका लागि भर गर्न लायक देखिँदैन। पुराना दलहरु आफ्नै नेतृत्वमा सरकार बनाउने भन्दा पनि नयाँ भनिएकाहरुलाई बहुमत पुर्याउन नदिनकै लागि गठबन्धनको भारी बोक्न लालयित देखिन्छन्।

सम्भावित गठबन्धनले अर्को पनि सन्देश दिएको छ। लगातार सत्तामा बसिरहेका दलहरु सत्ताबाहिर बस्दा आफूलाई जीवित ठान्दैनन्। वाम विश्लेषक घनश्यमा भुसालले भने जस्तै ‘चुनावदेखि चुनावसम्म’को म्युजिकल चेयरमा घुमिरहन्छन्। अहिले फेरि त्यही प्रयासमा लागेका छन् देउवा, ओली र प्रचण्ड।

गठबन्धनका लागि बसिरहेका बेला देउवा, ओली र प्रचण्डले स्मरण गरिरहनुपर्छ- जेनजी आन्दोलन शीर्षकमा भएको ७६ जनाको निधन र तीनसय बढी घाइते भएको तथ्य। भदौ २३ र २४ मा विध्वंस भयो वा विद्रोह व्याख्या आ–आफ्नै ढंगले गरुन्। यसको सन्देश स्पष्ट छ। राजनीतिमा संलग्नहरुलाई नसुध्रने छुट अब छैन। विधिको शासन बोलीमा होइन, व्यवहारमा हुनुपर्छ भन्नका लागि पनि हो त्यो विद्रोह वा विध्वंस।

देउवाले कुटाई खाए, ओली-प्रचण्डको घर खरानी भयो। अरु धेरै सरकारी र व्यक्तिगत संरचना ध्वस्त भए। कुनै पनि कोणबाट यी घटनालाई सकारात्मक मान्न सकिँदैन। यति चाहीँ स्विकार्नैपर्छ रविलक्ष्मीले अस्पतालबाट डाक्टरकै सहयोगमा किन नहोस् दाहिने हात काटेर एउटा सन्देश दिएकी छन्- ओली, देउवा र प्रचण्ड मात्रै होइन, रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङहरुले पनि राजनीति गर्ने नै हो भने इमानका साथ गर्नुपर्छ। फेरि पनि उही ‘चुनावदेखि चुनावसम्म’ सत्ताकै लागि म्युजिकल चेयरमा घुम्ने दिनको अन्त्य हुनुपर्छ। फेरि पनि पात्र फेरिने, प्रवृत्ति परिवर्तन नहुने हो रविलक्ष्मीको दाहिने हातको मूल्य महंगो सावित हुनेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ