मङ्गलबार, २३ असार २०८३

मधेस  र लुम्बिनीमा अपेक्षाअनुसार वर्षा हुन सकेन


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस  र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।  विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षाअनुसार वर्षा हुन नसकेको बताए । 

“हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ”, उनले भने “पूर्वानुमान गरिएजस्तो वर्षा नभए पनि देशका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भइरहेको छ । अहिलेको वर्षा मुख्यतः पहाडी क्षेत्रमा केन्द्रित छ ।”

अर्यालले हाल लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा मध्यम वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि क्रमशः विस्तार हुने सम्भावना छ । विशेषगरी पहाडी भूभागमा मेघगर्जन, चट्याङ र मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे ।

विभागले आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना, मधेस र लुम्बिनीका तराईमा हुरीबतासको जोखिम रहेको जनाएको छ । विभागका अनुसार मनसुनी प्रणालीको प्रभावका कारण आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागले आज जारी गरेको तीनदिने मौसम पूर्वानुमानअनुसार आज देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाएको छ ।

 कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा सहरी डुबान हुनसक्ने स्थानका बासिन्दालाई  सतर्क रहन आग्रह गरिएको छ ।

मधेस तथा लुम्बिनी प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले कमजोर संरचना, कृषि बाली तथा विद्युत् र सञ्चार सेवामा असर पर्न सक्ने विभागले जनाएको छ ।

आज राति देशका हिमाली भूभागका धेरै स्थान तथा पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराईका धेरै स्थान, मधेस प्रदेशका धेरै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

 आगामी केही दिन मनसुनी गतिविधि कायम रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन, नदी तथा खोलामा आउने आकस्मिक बहाव, पहिरो र सहरी डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ