- भदौ ०२, २०८१
विसं २०४५ साल कार्तिक २१ गते। म ७ कक्षामा पढ्थेँ। हाफ टाइम हुने बेला भएको थियो। नेपाली शिक्षक सुदर्शन भट्ट सर आए, एउटा सूचना लिएर। हामीलाई पढाउँदै गरेका बलराम सर रोकिए। सुदर्शन सरले सूचना सुनाए– भोलि रानी ऐश्वर्याको जन्मदिन सबै जना स्कुलमा उपस्थित हुनुपर्ने छ। सरले बडो नम्र स्वरमा फेरि दोहो¥याए, ‘यसपाली परिस्थिति अलि फरक छ। त्यसकारण भोलि सबै जना स्कुल आउनू।’ सुदर्शन सर सूचना सुनाएर अर्को क्लासमा गए। बलराम सरको पनि क्लास सकियो। हाम्रो हाफ टाइम छुट्टि भो।
हामी उही पुरानै रितमा चौरमा दौडियौँ एकछिन । खासमा स्कुलमा आधा दिनमा छुट्टी विद्यार्थी र शिक्षकका लागि खाजा खानका लागि हो तर, ऊबेलामा गाउँका स्कुलमा दिउँसो खाजा खाने चलन थिएन। रानीको जन्मदिनमा एउटा चकलेट खान पाइने आशले मुख भने रसाइसकेको थियो। खासमा पुस १४ गते राजा विरेन्द्रको जन्मदिन गच्छेअनुसार भव्य रुपले मनाउने चलन थियो स्कुल स्कुलमा। तर, रानी ऐश्वर्याको पहिलो पटक थियो। शायद प्रशासनले उर्दी जारी गरेको थियो। त्यही उर्दीअनुसार हामीलाई अनिवार्य स्कुल आउन फर्मान जारी गरेका थिए सरले।
भर्खर चाडबाड सकिएको। कोदोबारीको डिलमा भएका बुढा रुखमा पाकेका अम्बा बाँकी नै थियो। पारिलो घाम। तिहारमा टिपेर बाँकी बसेका गोदावरी, सयपत्री, मखमलीका फूल बारीका डिल डिलमा। मौसम घमाइलो थियो। स्कुल बिदा भयो, पढाई छुट्यो भनेर कहिल्यै पीर लागेन। स्कुल बिदा भएको दिन गोठालो जाँदा स्कुलमा भन्दा डब्बल मस्ती हुन्थ्यो। सुदर्शन सरको उर्दीले साना कक्षाका विद्यार्थी प्राय खुसी थिए।
भोलिपल्ट निर्धारित समयमै स्कुल सुरु भयो। ‘श्रीमान गम्भीर’ गाएलगत्तै केही शिक्षकहरुले रानी ऐश्वर्याको प्रशंसायुक्त भाषण गरे। विकास निर्माणमा राजसंस्थाको योगदानबारे केही रेडिमेड तर्क गरिए। पञ्चायतको उत्तरार्धमा सरकारको पक्षमा भाषण गर्नेहरुले सरकारले गरेको विकासका सन्दर्भ जोडेर अतिरञ्जित टिप्पणी गर्थे, जसरी पछिल्लो समय कांग्रेस–एमाले, माओवादी कार्यकर्ताले सरकारको बखान गर्ने गरेका थिए।
खासमा त्यसरी आकस्मिक रानी ऐश्वर्याको गाउँगाउँमा जन्मोत्सव मनाउनुको कारण पञ्चायती व्यवस्थाका समर्थकहरु भित्रभित्रै अत्तालिएका रहेछन्। सीमित सञ्चारका साधनका बावजुत पनि पञ्चायत विरोधी माहौल गाउँगाउँसम्म पुगेको थियो। पञ्चायतकालमा भएका सीमित विकासका असीमित व्याख्या यस्तै काममा लागेका थिए सरकारवादीहरु तर, उनीहरुको त्यो शैलीले पञ्चायत टिकाउन सकेन।
आक्रोशको आगो भित्रभित्र बल्दै गरेको उनीहरुले पत्तै पाएनन्। पञ्चायत ढलेको ३६ वर्षपछि नेपालमा सञ्चार प्रविधिको विकास चरम भएको थियो। पञ्चायतको उत्तरार्धमा जस्तै जनतामा आक्रोश पनि चरम थियो। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली उही राजसी ठाँटमा बालुवाटरमा हुक्कै बैठकेहरुको कुरा सुनेर भनिरहेका थिए, ‘यो सरकारलाई कसैले हल्लाउन सक्दैन।’
०००
आज संविधान दिवस। खरानी टक्टक्याउँदै बनेको सरकारले विशेष उत्सवको रुपमा संविधान दिवस मनाउँदैछ। राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिको उपस्थितिमा संविधान दिवस मलाइँदैछ। संविधान दिवस किन पनि मनाउनुपर्छ भने नेपालको संविधान २०७२ सामान्य प्रयासमा बनेको होइन। एकजुगमा एकदिन एकचोटी आउने संविधानसभामार्फत बनेको थियो।
यही संविधान बनाउनका लागि तत्कालीन माओवादीले गरेको ‘जनयुद्ध’१७ हजार नागरिकले ज्यान गुमाए। ०६२/०६३ को आन्दोलमा १९ जना शहिद भए। जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या आन्दोलनमध्येकै कहाली लाग्दो छ। अहिलेसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन्। फेरि चिन्ता छ। उही रानी ऐश्वर्याको २०४५ सालको जन्म उत्सवजस्तै हुने त होइन संविधान दिवस?
२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको मात्रै १० वर्ष भयो। संविधानका बारेमा आंशिक असन्तुष्टि भए पनि संविधानअनुसार नै बनेको सरकारविरुद्ध यति ठूलो विद्रोह सम्भव त पहिलो हो नेपालका लागि। २००७ साल, ०३६ साल, ०४६ साल र २०६२/०६३ सालमा पनि आन्दोलन भएकै हो तर, २०८२ साल भदौ २३ र २४ गतेको जस्तो भयानक आन्दोलन कहिल्यै भएन। कतिले यो आन्दोलनलाई संविधानविरुद्धको अन्तोष भनेर अपव्याख्या गर्ने दुष्प्रयास पनि गरे। तर, होइन। संविधानप्रति विद्रोही जेन–जी पुस्ता सकारात्मक छ।
ओली–देउवाले बजाएको बेमौसमको बाजा
खासमा यो संविधानको हुर्मत लिने काम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट सुरु भएको हो। जो अहिले छैटौँ र पाँचौ पटक प्रधानमन्त्री हुनका लागि ‘व्यालेन्स डाइट’ खाँदैछन्।
नयाँ संविधान जारी भएलगत्तै देउवा, ओली र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गच्छेअनुसार तीकडम गरेर आलोपालो प्रधानमन्त्री भए।
माओवादी–कांग्रेस, एमाले–माओवादी गठबन्धन हुँदासम्म संविधानका विषयमा त्यति धेरै चर्चा गरिएन। जब कांग्रेस–एमाले गठबन्धनको सरकार बन्यो, तब केपी ओलीले घोषणा गरे, ‘संविधान संशोधन सरकारको पहिलो एजेण्डा हुनेछ।’ओलीको आशय थियो- ‘सबै समस्या संविधानमा छ।’
संविधानलाई बद्नाम गराउन ओली देउवाले के गरेनन्। अपराधीले जेल मिनाहा त्यही दिन पाए। चाकरहरुलाई पदक त्यही तिथिमा भिरे। संविधान दिवसका सन्दर्भ जोडेर गरिएका यी भद्दा मजाकले आम सर्वसाधारणमा एउटा भ्रम पैदा गर्न खोजियो, ‘खराबी संविधानमै छ।’ खासमा ओली र देउवाले आफूले गरेका बद्मासीको दोष केबल संविधानलाई दिए। यो संविधानका कारण दलहरुले बहुमत ल्याउन सकेनन्, यो संविधानका कारण स्थायित्व भएन। यो संविधानका कारण प्रदेशका सरकारहरु अदलबदल भइरहे। चेलिबेटी बेचविखन, मानव हत्या, मानव तस्करीजस्ता जघन्य घटनामा संलग्नहरुलाई प्रदेशमा मन्त्री बनाएको भने कहिल्यै महसुस गरेनन्। कोशीदेखि कर्णाली प्रदेशसम्मका केही थान मन्त्रीको अनुहार आफैं प्रष्ट छ। संविधानको धज्जी उडाउन ओली-देउवाले के मात्रै गरेनन्।
कुनै दलले बहुमत ल्याउन नसकेको, केन्द्रदेखि प्रदेशसम्मका सरकारले स्थायित्व प्राप्त गर्न नसकेको, विकासको गति धिमा भएको सत्य हो तर, संविधानका कारण होइन। ओली–देउवाको नियत हो।। यदि ओली–देउवाको नियत खराब थिएन भने एक दशक नबित्दै संविधान संशोधनको बहस गर्ने थिएनन्।
जेनजी आन्दोलनपछि एउटा नयाँ वाक्य गुञ्जिएको छ, ‘हामी फेरि धुलो टक्टक्याएर उठ्छौं।’ यो अवस्थाको विकल्प त्यही नै हो। धुलो टक्टक्याएर उठ्नैपर्छ। धुलो मात्रै टक्टक्याएर हुन्न, धुलोभन्दा पनि दुषित विचार बोकेकाहरु अहिले हरेक पार्टीका शीर्ष नेतृत्वमा छन्। यदि संविधान दिवसलाई ०४५ सालमा रानी ऐश्वर्याको जन्मदिवसभन्दा फरक बनाउने हो भने हरेक पार्टीले दुषित विचार बोक्ने र खराब नियत राख्नेहरुलाई टक्टक्याएर फाल्नु जरुरी छ।
कांग्रेस र एमाले कार्यकर्ताले ओली-देउवा पात्र होइन, प्रवृत्ति हुन् भनेर बुझे भने शब्दमा भनिए जस्तै धुलो टक्टक्याएर उठ्न सम्भव छ। अन्यथा त्यही धुलोमा निसास्सिएर संक्रमित हुन समय लाग्दैन। आशा गरौं, यसपालीको संविधान दिवसले अहिलेसम्म देउवा र ओलीबिना पार्टी चल्दैन भन्दै पाउ पूजा गर्दागर्दा अचेत भएका कार्यकर्ताको होस् खुलाउने छ र अर्को वर्ष फेरि सभ्य र भव्य रुपमा नेपाली नागरिकले संविधान दिवस मनाउनेछन्।
टिप्पणीहरू: