शनिबार, ०६ मंसिर २०८२

तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी भइरहेकाे छ: मन्त्री खरेल


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ अपुरो रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताएका छन्।

उनले ५६ वर्षपछि आएको विधेयक समयसापेक्ष हुन नसकेको उल्लेख गर्दै आवश्यक संशोधनसहित चलचित्र विधेयकलाई अझ परिष्किृत र विवादरहित बनाउन राष्ट्रियसभाको विधायन समितिसमक्ष आग्रह गरे।

समितिको आजको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले विधेयकलाई दर्शक, निर्माता, नियमनकर्तालगायत सरोकारवाला पक्षबाट समेत हेर्दा आफूले १० प्रतिशत मात्र संशोधन भएको पाएको टिप्पणी गर्दै आवश्यक परे पुनर्लेखन गर्नुपर्ने धारणा व्यक्त गरे।

‘मैले चार वटा ‘लेन्स’ प्रयोग गरेर विधेयक अध्ययन गरे। पहिला दर्शक भएर हेरे यो विधेयक नेपाली जनता जसले सिनेमा हेर्छ। दोस्रो मैले सिनेमा बनाउने पक्षबाट हेरेँ, तेस्रो मैले यसलाई चाहिने सहजीकरण र नियमन गर्ने निकाय भएर हेरेँ र चौथो ग्लोबल ‘प्रस्पेक्टिभ’बाट हेरेँ’, उनले भने, ‘यी चारै लेन्सबाट हेर्दा यो विधेयकमा ५६ वर्षपछि आएकोजस्तो संशोधन भएको छैन। यसलाई २० देखि ३० प्रतिशत पु¥याउन सकियो भने समय अनुकूल हुन्छ। आवश्यक परे ४० प्रतिशत नै पुर्याउनुपर्ने हो कि!’

मन्त्री खरेलले चलचित्र क्षेत्रमा नियमनभन्दा पहिला सहजीकरण र सुविधा दिनुपर्नेमा जोड दिए। चलचित्र कुन मन्त्रालयअन्तर्गत रहने भन्ने बहसमा मन्त्री खरेलले चलचित्र क्षेत्र स्वभाविक रूपमा सञ्चार, दृश्य–श्रव्य, प्रविधि र उत्पादनसँग जोडिने भएकाले सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्ने तर्क राखे।

उनले सेन्सर बोर्डमाथि उठाइएका चिन्ता र चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मौलिकपन र सर्जनशील पक्षको संरक्षण गर्नेगरी ‘सेन्सर’को प्रावधान राख्नुपर्नेमा जोड दिए।

मुलुकको समसामयिक राजनीतिक प्रसङ्ग उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले प्राप्त कार्यादेशबमोजिम आगामी फागुन २१ गते निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे।

तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नेगरी आवश्यक तयारी गरिहेकाले त्यसमा सहयोग गर्न अनुरोध गर्दै मन्त्री खरेलले निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरोकारवाला पक्षसँग चरणबद्धरुपमा छलफल गरिरहेको सरकारले राजनीतिक पार्टीहरूसँगको संवादलाई निरन्तरता दिनेक्रममा आज बैठक आयोजना गरेको जानकारी दिए। 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ