- असार ०६, २०८०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरुले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताए ।
उनले भने, “राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।”
त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुखदुःखको भएको धारणा राखे । “वडाले सक्रिय जीवनपछि घरमा भएकालाई सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ”, झाले भने।
समाजको वास्तविक स्वरुप, त्यस क्षेत्रमा बसोबास गर्ने सर्जक, कलाकार, खेलाडी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी जस्ता पेसाकर्मी, ज्येष्ठ नागरिक, उद्यमी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको व्यक्तित्वले बिम्बित गर्छ । कार्यक्रममा विभिन्न क्षेत्रका ७० व्यक्तिलाई सम्मान गरिएको थियो ।
सबै पेसा र क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु आफ्नो वडामा हुनुलाई आफूले वैभवका रुपमा लिएको बताउँदै वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले भने, “प्रतिशोध लिएरभन्दा स्वच्छ प्रतिस्पर्धा गरेर उन्नत समाज निर्माण गर्नुपर्नेछ ।”
टिप्पणीहरू: