आइतबार, १६ कात्तिक २०८२

काठमाडाैंकाे फाेहाेर व्यवस्थापनमा फेरि राजनीति


काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने विषयमा हुने फेरि राजनीति सुरु भएकाे छ ।

चार दिनदेखि बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेपछि ५ हजार टन फोहोर उपत्यकामा अलपत्र परेको छ । फोहोर संकलन तथा विसर्जन कार्यमा अवरोध भएका भन्दै फोहोर घरबाहिर ननिकल्न काठमाडौं महानगरपालिका तथा उपत्यकाका अन्य स्थानीय तहले सूचना जारी गरेका छन् ।

सहरी विकास मन्त्रालयले संघीय सरकारको दायित्वमा भएका कामहरू नगरेको भन्दै स्थानीय बासिन्दाले ककनी र धुनीबेंसीका जनप्रतिनिधिसहित आन्दोलन गरेपछि चार दिनयता फोहोर व्यवस्थापनमा अवरोध भएको हो । सहरी विकास मन्त्रालयले आन्दोलनकारी पक्षसँग शुक्रबार मन्त्रालयमा छलफल गरेको छ । प्रभावित क्षेत्रका तर्फबाट सहभागी आन्दोलनकारी प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिले सरकारले पटक पटक धाेका दिएकाे भन्दै उधारो सहमति नमान्ने बताइरहेका छन् ।

सरकारले १८ बुँदे सहमति पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय नागरिक र जनप्रतिनिधि क्षतिपूर्तिसहितको आन्दोलनमा जानेगरी संघर्षको तयारीमा रहेको धुनिबेंसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले बताए ।

 ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार सहमति अनुसार फाेहाेरकाे उचित व्यवस्थापन नहुँदा स्थानिय विभिन्न राेगकाे संक्रमण भाेग्न विवस छन् ।

काठमाडौं उपत्यकामा दैनिक १ हजार ५ सय टन फोहोर  उत्पादन हुने गरेकाे छ ।

मन्त्रालयसँग काठमाडौं महानगरपालिकाले जिम्मा लिएर फोहोर व्यवस्थापनाको काम भइरहेकाले फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र सहरी विकास मन्त्रालयलाई प्रमुख जिम्मेवार बनाएर स्थानीय बासिन्दाले मागहरू राख्दै आन्दोलन गरिरहेका छन् ।

बञ्चरेडाँडामा हाल काठमाडौं महानगरपालिकाबाट दैनिक ७ सय र ललितपुर महानगरपालिकाबाट दैनिक करिब १ सय ५० टनको हाराहारी फोहोर विसर्जन हुने गरेको छ भने उपत्यकाका अन्य १६ स्थानीय तहबाट करिब ५ सय ५० टन फोहोर विसर्जन गरिने तथ्यांक रहेको फोहोरमैला व्यवस्थापन संघ स्वमानका महासचिव मित्रप्रसाद घिमिरे बताउँछन् ।

फोहोर विसर्जनमा स्थानीयले रोक लगाएपछि छलफलमा जुटेका मन्त्रालयका पदाधिकारी र आन्दोलनरत नागरिकसहित स्थानीय तहका जनप्रतिनिधि फोहोरको नामको राजनीति अन्त्य गरी दीर्घकालीन समाधान निकाल्नुपर्ने बताइरहेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङले काठमाडौं महानगरको फोहोरले आफ्नो नगरक्षेत्रभित्र असर परेकाले महानगरले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । क्षतिपूर्ति नभनेर असर न्यूनीकरणका लागि २४ जेठ २०७९ मा महानगरलाई पत्राचार गरेको बताउँदै गुरुङले भने, ‘बालेनजीले फोहोरका विषयमा धेरै ठूलाठूला कुरा गर्नुभएको थियो तर झन् गैरजिम्मेवार देखिनुभयो ।’

 बालेनले गफ मात्रै दिए

स्थानीय तह निर्वाचनका बेलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफू निर्वाचित भए फोहोरबाट मात्रै ५ मेगावाट बिजुली निकाल्ने भन्दै महत्वाकांक्षी भाषण गरेका थिए ।

निर्वाचित भएलगत्तै डम्पिङ साइट ओखरपौवामा पुगेर स्थानीय नागरिकसँग प्रतिबद्धता जनाएका बालेन क्रमशः प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि र स्थानीय नागरिकका प्रतिनिधिलाई भेट्नसमेत नमान्ने अवस्थामा पुगेको बेलकोटगढीका नगरप्रमुख गुरुङले बताए । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नगरी माला नै नलगाउने घोषणासमेत गरेका साहले पछिल्ला समयमा फोहोरको मुद्दामा न केही बोल्छन्, न कुनै कामै गर्छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ