- असार ०७, २०८०
नवलपुर (नवलपरासी) । निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेटको सवारीसाधनलाई गण्डकी प्रदेश सरकारले भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिन लागेको भन्दै यातायात व्यवसायीले गरेको आन्दोलनका कारण यात्रुले सास्ती पाएका छन् ।
गण्डकी प्रदेश सरकारले गरेको निर्णयको विरोधमा व्यवसायीले यात्रुवाहक सार्वजनिक सवारीसाधन ठप्प पार्दा यात्रुहरूले सास्ती पाएका हुन् । यात्रुबाहक सवारीसाधन सञ्चालन नभएपछि छोटो दूरीको यात्रा गर्ने यात्रु पैदल तथा तीन पाङग्रे अटोरिक्सा र राइड शेयरिङमार्फत गन्तव्यतर्फ लागे पनि टाढा जाने यात्रु सडक किनारमा सवारीसाधनको प्रतिक्षामा बसेका छन् । चर्को घाममा राजमार्गको छेउमा सवारीसाधन कुरेर बस्दा निकै सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटबाट बुटवलका लागि हिँड्नुभएकी राधिका क्षेत्रीले गाडी नचल्दा निकै दुःख पाएको बताइन् । उनी काखमा नाबालक छोरा बोकेर सवारीसाधन कुरिरहेकी थिइन् ।
‘जरुरी काम भएर बुटवल हिँडेको गाडी कुरेर तीन घण्टा भइसक्यो ।” यात्रु बस बन्द भए पनि मालबाहक ट्रकमै यात्रा गर्न ट्रक रोक्दा उनीहरूलेसमेत लैजान नमानेको क्षेत्रीको भनाइ छ । ‘जसले जे माग राखेर आन्दोलन गर्दा पनि यात्रुले दुःख पाउँछन्’ उनले भनिन् ‘अत्यावश्यक सेवा मानिने सार्वजनिक सवारीसाधन बन्द गर्न नपाइने नियमको समेत पालना हुनसकेको छैन ।’
बुटवलका केशव शर्माले वैदेशिक रोजगारबाट फर्किएर राति नारायणघाटमा बास बसेर बिहान बुटवल जान खोज्दा गाडी नपाएको बताए । ‘हिजो आउँदा राति भयो, थकाइ लागेकाले नारायणघाटमा बास बसेँ’ उनले भने ‘बिहान उठेर बुटवल जान गाडी कुर्दा गाडी नपाएपछि हिँडेर गैँडाकोटसम्म आएको छु, अहिले घर पुग्ने बेला भइसक्यो तर यतिकै बस्नुपरेको छ ।’
‘नेपालमा आफ्नो माग पूरा भएन भने बन्द ग¥यो, आन्दोलन ग¥यो यो त चलेकै रीति हो । तर, यात्रुहरूलाई कहाँ जानु छ, बिरामी हुन्छन्, काममा जनुपर्छ यो बारे नसोचेपछि दुःख पाउने हामी जनताले नै हो ।’ आफ्नो माग पूरा गराउने नाममा बन्द गर्नु राम्रो पक्ष नभएको उनको भनाइ छ ।
यातायात व्यवसायी भने आफूहरूले यात्रुलाई दुःख नदिएको दाबी गर्दै आएका छन् । यातायात व्यवसायी दीपक मिश्रले सरकारले आफूहरूको कुरा नसुनेसम्म र निजी प्रयोजनका लागि खरिद गरिएको सवारीसाधनलाई यात्रु बोक्न दिने निर्णय नसच्याएसम्म गाडी नचलाउने बताए ।
सार्वजानिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आजदेखि देशभर यात्रुवाहक सार्वजनिक सवारीसाधन अनिश्चित कालका लागि ठप्प परेको जनाएको छ । व्यवसायीले राखेको मागप्रति सरकार गम्भीर नबन्दा गरिएको सवारीसाधन बन्दले देशभरका यात्रुहरूले दुःख मात्रै पाएका छैनन् अत्यावश्यक कामसमेत ठप्प भएको छ ।
टिप्पणीहरू: