आइतबार, २५ जेठ २०८२

अब सुकुम्बासीहरुको आन्दोलन पनि आजपामा समाहित


काठमाडौं । आम जनता पार्टी (आजपा)मा सुकुम्बासीहरु आबद्ध हुन थालेका छन् । नेपाल भूमीहीन सुकुम्बासी संघ र विभिन्न पार्टीहरुमा आबद्ध सुकुम्बासी संगठनको मोर्चा संयुक्त सुकुम्बासी मोर्चा आजपामा प्रवेश गरेको छ ।

काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आज (बुधबार) दुवै संगठनका पदाधिकारी एवं सदस्यहरुले आजपामा प्रवेश गर्दै सुकुम्बासी आन्दोलनलाई निर्णाय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उनीहरुलाई पार्टीमा प्रवेश गराउँदै लुटकारी दलतन्त्र र नेपालको पूँजी विदेश लैजाने भगौडाबर्गको विरुद्धमा हुने आन्दोलनसंगै अब उत्पीडित, अधिकारविहीन, सुकुम्बासी, कबाडी, श्रेणीविहीन कर्मचारीको हकअधिकार एवं आन्दोलनलाई निर्णय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मुलुक अहिले संकटमा छ । श्रमजीवि, उत्पीडित अधिकार विहिन सहितका बर्गहरु एकजुट भएर मुलुकलाई जोगाउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । सुकुम्बासी बस्तीमा सुद्ध खानेपानी नदिनु सरकारले मानवता विरुद्धको अपराध गर्दैछ । सुकुम्बासीसंग कर लिने, मत लिने तर खाने पानी नदिने, बिजुलीबती नदिएर सरकारले मानवताविरुद्धको अपराध गर्दैछ,’ आजपा अध्यक्ष साहले भने, ‘बालुवाटार, ललिता निवास, पतञ्जलीको जग्गा आफ्नो नाममा गराउँने, बेचेर खाने तर सुकुम्बासीलाई जग्गा नदिने सरकारका विरुद्धमा एकजुट भएर निर्णायक आन्दोलनमा जानका लागि जुटौं ।’

काम नगर्ने क्षेत्राधिकारविहीन भूमि आयोगको काम नभएको बताउँदै उनले आयोग कार्यकर्ता पाल्ने र जनता झुक्याउने मेलो बनेको बताए ।

नेपाल भूमिहिन सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विक, उपाध्यक्ष अमर योङया, महासचिव एमडी सतार, कोषाध्यक्ष बिन्दा कटुवाल, सदस्य कृष्ण सापकोटा, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका केन्द्रीय सचिव राम विष्टलगायतका पदाधिकारी एवं सदस्यहरु आजपामा प्रवेश गरेका हुन् । उनीहरुलाई आजपा अध्यक्ष साहले टिका र खादा ओढाएर पार्टीमा प्रवेश गराएका हुन् ।

आजपा सहअध्यक्ष तिलक थापामगर र सुकुम्बासी संगठनका पदाधिकारीहरुले एकता पत्रमा हस्ताक्षर गरेका छन् । आजपा प्रवेश गर्दै नेपाल भूमिहिन सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले अहिलेसम्म २३ आयोग बन्यो तर सुकुम्बासीहरुले लालपुर्जा अझै पाउन नसकेको बताए ।

सुकुम्बासी आयोग बनाउने र भत्ता खाने काम मात्रै भएको बताउँदै उनले आफूहरुले बालेन साहलाई मतदान गरेर मेयरमा विजयी गराए पनि उनले आफूहरुकै घर भत्काउन डोजर लिएर आएको बताए । आजपाको नेतृत्वमा अब निर्णाय आन्दोलन गर्ने र सुकुम्बासीहरुलाई अधिकार दिलाउँन सरकार र महानगरको विरुद्धमा कडा रुपमा प्रस्तुत हुने बताए ।

‘श्रमजीविहरु अपमानित हुने र श्रम नगर्नेहरु सम्मानित हुने संस्कृतिमा रूपान्तरणसहित आम श्रमजीवी वर्गको मुक्ति तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि आम जनता पार्टी र नेपाल सुकुम्बासी संघले लिँदै आएको पहलकदमी र कामकारबाही एउटै दिशामा अग्रसर रहेको निचोडसहित साँझा कार्यभारका लागि सँगसँगै सहयात्रा गर्दा सहज हुने निष्कर्षमा पुग्यौं,’ आजपा सहअध्यक्ष थापामगर र सुकुम्बासी संगठनका पदाधिकारी बीच भएको सहमतीमा पत्रमा उल्लेख गरिएको छ ।

यस्तै वास्तविक भुमिहिन, अव्यवस्थित बसोबास र बस्तीहरू तथा सुकुम्बासीहरुलाइ लालपूर्जा उपलब्ध गराउने प्रतिबद्धतासहित भू–माफियाहरुले सरकारी जग्गाहरू आफ्नो र आफ्नाको स्वामित्वमा गराएर मचाएका लुट आतंकको प्रतिवाद गर्ने सहमति भएको छ ।

गरिब, दलितलाई आवास र रोजगारको हक दिलाउन संघर्षका कार्यक्रम शसक्त रुपमा अगाडि बढाउने, आम जनजीविकाका सवालहरू तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको प्राप्ति, रक्षा एवं विकाससहित देशमा धार्मिक स्वतन्त्रता, सामाजिक न्याय, समता, सुशासन, बदलाव र विकासका लागि जारी संघर्षहरुलाई निर्णायक बनाउदै अगाडि बढने सहमति भएको छ ।

आजपा संगठन विभाग प्रमुख एवं कार्यालय सदस्य अमर साहको अध्यक्षमा भएको पार्टी प्रवेश कार्यक्रमको सञ्चालन प्रवक्ता चन्द्रभुषण साहले गरेका थिए । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, सुकुम्बासी संगठनका पदाधिकारी, सदस्यलगायतको विशेष सहभागिता रहेको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ