मङ्गलबार, २४ चैत २०८२

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय


नयाँ दिल्ली ।  भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मङ्गलबार व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई साे निर्णय सुनाएका हुन् ।
 
जेल जीवन बिताइरहेका उनीहरुलाई प्रहरी अधिकारीहरूले क्रूर यातना दिएर हत्या गरेको जनाइएको छ । 

मिडिया रिपोर्टका अनुसार मोबाइल पसल चलाउने उनीहरूलाई कोभिड–१९ महामारीको समयमा लकडाउनका क्रममा अनुमति दिइएको समयभन्दा बढी समय आफ्नो पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो ।

उनीहरुको हत्या पछि तमिलनाडु सरकारले मुद्दा सीबीआईमा हस्तान्तरण गरेको थियो भने सीबीआईले ९० दिनभित्र नौ अधिकारी विरुद्ध आरोपको अनुसन्धान गरेको जनाइएको छ । 

सुनुवाइका क्रममा, सीबीआईले ५० जनाभन्दा बढी साक्षीको जाँच गरेको उल्लेख गर्दै घटनाले जन–भावनामा खेलबाड गरेको भन्दै कडा सजायको सुनिश्चित गरेको तर्क दिएको छ ।

 हत्यामा संलग्न नौ जना अभियुक्तलाई हत्या र प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ ।

भारतमा पछिल्लो पटक बसमा एक महिलाको सामूहिक बलात्कार र हत्या गरेको आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको थियो । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ