शनिबार, १३ भदौ २०८३

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु


कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको  भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको हो ।

 स्थानीय कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए । भारी वर्षाका कारण सडकमा भेल बढेपछि उनले हर्कचोकमा स्कुटर रोके । स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई भेलले बगाएर सडकको नालीमा पु-याएको थियो ।

छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन् । त्यसपछि आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पु-याएको थियो । श्रीमान् कमलले  हारगुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए । आमाछोरीलाई पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको  थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ