सोमबार, १९ साउन २०८२

माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा साेमबार सम्पन्न भएको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘दुवै पार्टीले एकता गर्ने निर्णय गरिसकेका छन्, अब छिट्टै एकता हुन्छ’, प्रवक्ता सापकोटाले भने, ‘अन्य माओवादी धारसँग पनि एकताको प्रयास भइरहेको छ।’

उनले नेकपा (एकीकृत समाजवादी)सँग पनि एकताको बारेमा छलफल भइरहेको जानकारी दिए।

यसैगरी बैठकले पार्टीभित्र देखिएको गुटउपगुट र स्वार्थ समूह विघटन गर्ने सङ्कल्प र प्रतिबद्धता व्यक्त गरेको छ।

समितिकाे बैठकले पार्टी निर्णयविपरीतका गतिविधि गर्ने नेता कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको पनि प्रवक्ता सापकोटाले जानकारी दिए।

‘पार्टीभित्रको गुट उपगुटको बारेमा अनुगमन गर्न तल्ला कमिटीसम्म विभिन्न समिति बनाउने निर्णय भएको छ’, प्रवक्ता सापकोटाले भने, ‘बैठकले पार्टीको शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्त्वपूर्ण निर्णय गरेको छ।’

पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आचारसंहिता र नियमावली निर्माण गर्ने तथा पार्टीलाई विधि पद्धति र प्रक्रियामा सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए।

पार्टीका उपमहासचिव जनार्दन शर्माले स्थायी समितिको निर्णयलाई महसुस गरेको र बैठकको निर्णयमा हस्ताक्षर गर्न सहमत भएकाे उनले जानकारी दिए।

बैठकले दशैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक आह्वान गर्ने, पोखरामा पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ १५ गतेदेखि सुरू गरेर ताप्लेजुङसम्म पुर्‍याउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ