- असार ०७, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको छ ।
कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । धेरै जसो बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण सो तिराइ घरकोठा खाली गराइ पाउँ भन्ने खालका निवेदन आउने गरेका छन् । सहकारीको कारण घरमा भएको क्षतिको पूर्ति गराई खाली गराइपाउँ, आफ्नो बचत समेत सहकारीमा रहेकोले सो रकम र भाडा समेत उपलब्ध गराई सहकारी हटाइ पाउँ भन्ने खालका निवेदन पनि आउने गरेका छन् । सहकारी कार्यालयमा घरधनीले ताला लगाइदिएको कारण कार्यालय सञ्चालन गर्न सहजीकरण गरीपाउँ, दुई प्रकारको सम्झौता खारेज गरी बहाल कर तिराइ पाउँजस्ता विवाद बढी आएका छन् ।
यी विवाद आउनुको मुख्य कारण आर्थिक मन्दीको असर भएको विज्ञहरुको भनाई छ । व्यापार नभएपछि भाडावालले समयमा भाडा तिर्न नसक्दा घरधनीले उजुरी गर्ने गरेका छन् । प्राय व्यापारिक प्रायोजनका लागि सटर भाडामा दिने घर धनीले महानगरलाई तिर्नु पर्ने घरभाडा कर पनि व्यापारीबाटै असुल्ने प्रवृत्ति भएकाले त्यसमा पनि समस्या आउने गरेको छ । घरभाडा कर घरधनीबाटै लिनुपर्नेमा महानगर प्रशासन जानकार भए पनि जनप्रतिनिधीको भोट घटने डरले महानगरले व्यापारीबाटै असुल उपर गर्दै आएको छ । ‘हामीलाई थाहा छ । घरभाडा वाला सम्झौतापत्रमा हाल घरधनीले लिइरहेको भाडा भन्दा निकै थोरै सम्झौता गरिएको हुन्छ । तर, हामी त्यसैलाई आधिकारिक मान्न वाध्य छौं ।’ महानगरपालिकामा कार्यरत एक कर्मचारीले भने ‘घरबेटीले लिएकै भाडा अनुसारका बहाल कर घरबेटीबाटै असुल उपर गर्नुपर्ने भए पनि हामी सक्दैनौं, हाम्रा जनप्रतिनिधीहरु भोट घट्ने डरले नक्कली कागजलाई आधिकारिक मान्यता दिनु हुन्छ ।’
सहकारीसंग पनि धेरै समस्या जोडिएको छ । सहकारी बसेका घरले भाडा नतिरी भोगेका धेरै घटना छन् । कामपा कार्य क्षेत्र भएर लामो समयदेखि बन्द अवस्थामा रहेका सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्रको आवश्यकता देखाउँदै उपप्रमुख डङ्गोलले विगतका समस्या दोहोरिन नदिने कार्यक्रम तत्काल थाल्नुपर्ने बताइन् ।
क्षेत्राधिकार बाँडिएको र प्राप्त अधिकारको प्रयोगका लागि निकायगत संयन्त्रका विषयमा कुरा गर्दै उनले वित्तीय व्यवस्थापनसँग सम्बन्धित सम्भावित जोखिमलाई पूर्वानुमान गरेर थप विग्रिन नदिन ‘निदानात्मक’ कार्यक्रम र आम मानिसलाई सहकारीसँग सम्बन्धित वित्तीय आचरणका विषयमा ‘सचेतनात्मक’ कार्यक्रम अहिले नै थालनी गर्न सकिने पनि बताइन् ।
सहकारीहरू सङ्कटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने प्रवृत्ति रहेको बताइएको छ ।
कामपाको कानुन तथा मानवअधिकार विभागका प्रमुख वसन्त आचार्यले कोठा खाली गराउनेबारे गुनासो बढ्नुको मुख्य कारणमा घर बहालमा लिँदादिँदा लिखित सम्झौता नगर्नु, लिखित सम्झौता गरे पनि सर्त स्पष्ट नहुनु, बहाल कर कम तिर्न बहाल अङ्क न्यून राख्नु वा दुइवटा सम्झौता गर्नुजस्ता समस्या देखिएको बताए । समयमा बहाल नबुझाउनु, बहाल कर कसले बुझाउने भन्ने सम्झौतामा नखुलाउनु र खुलाएको अवस्थामा पनि सहकारी संस्थाले बहाल कर नतिर्नु, घरधनीलाई सहकारी समस्यामा छ वा बन्द हुँदैछ भन्ने जानकारी नहुनु, कार्यालय बन्द भएको सहकारीका पदाधिकारी तथा कर्मचारीसँग सम्पर्क हुन नसक्नुजस्ता समस्यासँग सम्बन्धित विवाद आउने गरेको जानकारी र्दिए ।
टिप्पणीहरू: