- असार ०७, २०८०
बागमती। सडकमा माथिबाट खसेका ठूला ढुङ्गा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा यातायात सञ्चालन भएको छ।
अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठूला ढुङ्गाहरु खस्दा आज बिहान ६ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो।
सडकमा खसेको ठूला ढुङ्गासहितको पहिरो पन्छाएपछि अहिले सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
यस्तै, हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अझै सञ्चालन हुन सकेको छैन।
अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझदेखि सो सडक अवरुद्ध भएको थियो।
प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
पहिरो पन्छाउने काम भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो झर्नेक्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।
टिप्पणीहरू: