सोमबार, ०८ असार २०८३

‘झिंगे दाउ २’ असाेजकाे पहिलाे हप्ता प्रदर्शन हुने


काठमाडाैं ।  असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गर्दै प्रचारप्रसार आरम्भ गरिएको छ । यी तीन पोष्टर सार्वजनिक गरेसँगै यसको निर्माणपक्षले अब प्रचारलाई पनि तिव्रता दिने बताएको छ । अब, फिल्मको गीत, ट्रेलर सार्वजनिक गर्दै अगाडि बढ्ने निर्माणपक्षको भनाई छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा सुलभ प्रतिक, प्रतिक देउजा, समिक्षा देउजाको लगानी छ ।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठकाे एक्सन छ ।

सार्वजनिक तीन नयाँ पोष्टरले फिल्मको विभिन्न पाटोलाई चित्रित गरेको छ । यो फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोद कुमार पौडेल लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथी कलाकारको रुपमा काम गरेका छन् ।

परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको यो फिल्ममा विवेक बस्नेत, ईश्वर सिन्केमनाको छायांकन छ ।

चन्द्र बहादुर भण्डारी र गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको यो फिल्मको सार्वजनिक एक पोस्टरमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा छन् । यता, हिउँवाला गौतम, महेश त्रिपाठी र कुशलको भावुक अनुहार देख्न सकिन्छ ।

यस्तै, अर्को एक पोष्टरमा दशैंको उमंग देख्न सकिन्छ । फिल्मका मुख्य चार पात्रहरु दशैंको उमंगमा रमाएका छन् । यसले, फिल्मको कथावस्तुमा दशैंलाई समेत समावेश गरेको प्रष्ट हुन्छ ।

यस्तै, तेस्रो पोष्टरमा आर्यन सिग्देललाई पनि देखाइएको छ । मुख्य चार पात्रहरु अचम्मित भावमा देखिएका छन् भने आर्यनले उनीहरुलाई रोकेको जस्तो देखिन्छ । यी तिनै पोष्टरले फिल्मप्रति दर्शकको चासो र उत्साह अझै बढाउने पक्का छ ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्र्यू नेपाल प्रा.लिको प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो । ३ वर्ष अगाडि रिलिजमा आएको फिल्म ‘झिंगे दाउ’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो । दर्शकले यसको सिक्वेलको रुपमा तयार भएको ‘झिंगे दाउ २’लाई पनि निकै रुचाउने अपेक्षा गरिएको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ