शुक्रबार, २७ चैत २०८२

हर्क साङपाङकाे दार्चुला डायरी : घरैपिच्छे एक दुई जना तुइन चुडिएर महाकालीमा विलिन भएका रहेछन्


काठमाडाैं । श्रमदान मार्फत झाेलुङ्गे पुल निर्माणका लागि दार्चुला पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ राई आज काठमाडाैं फर्कदैछन् ।

दार्चुलामा देखिएका वस्तुस्थितीलाई सामाजिक सञ्जाल फेशबुक मार्फत लेख्दै उनले त्याे ठाउँ सुत्केरी श्रीमतीलाई ओखती किन्न गएकाे श्रीमान तुइनबाट खसेर महाकालीमा विलाएकाे घटना स्मरण गरेका छन् ।

उनकाे भनाई

जहाँ म पुगेँ त्यहाँबाट पालिका कार्यालय पुग्न ६ घण्टा हिँडेर जानु पर्ने रैछ ! बाटोमा ढुङ्गा खस्ने जोखिम हुने रैछ भने जिल्लाको सदरमुकाम पुग्न १ देखि १.५ दिन ! फोन नलाग्दो रैछ ! बिजुली प्रसारण पनि रैन रैछ ! स्वास्थ्य चौकी पुग्न ४ घण्डा हिँडेर जान पर्ने ! बजार सदरमुकाममा मात्रै रैछ ! जान १ दिन लाग्ने ! विद्यालय आधारभुत तह सम्म रैछ ! शिक्षक दरबन्दी पुग्दो रैन रैछ ! १५ जना सशस्त्र प्रहरी र ५-६ जना नेपाल प्रहरी देख्दा मात्रै त्यो नेपाल हो भन्ने राज्यको उपस्थिति महशुस हुँदो रैछ !

संसारको यस्तो कुना जहाँ सयौं बर्ष देखि मानिसहरु विकासको पर्खाइमा तुइनबाट खस्दै महाकालीमा बिलिन हुँदै जीवन जिइरहेका रैछन ! घरै पिच्छे १ जना २ जना तुइन चुँडिएर महाकालीमा खसेका रैछन ! सुत्केरी बुहारीलाई औषधी किन्न भनी बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा बिलाए ! कहिल्यै फर्केन भन्दै एउटी आमाले विलौना गर्दा भक्कानिएको  हृदयमा गहिरो चोट लिएर काठमण्डौँ फर्कंदैछु आज !

कहिल्यै घाम नलागेको तोसारोले छोपिएको पाखामा कठाङगृएर घामको न्यायो खोजिरहेका ती आँखाहरुको सपना मैले पनि मेरो आँखामा सजाएर काठमाण्डौँ फर्किंदैछु आज ! संसदको वैठकहरु अनि मेरा अनेकन जिम्मेवारीले गर्दा फर्कन वाध्य छु ! त्यो ठाउँलाई सम्झंदा जीवन भरि उतै बसेर गिट्टी कुटिरहूँ जस्तो लाग्ने ! श्रमदान गरिरहूँ जस्तो... आजीवन !

यो कुनै यात्रा थिएन मेरो लागि ! यो थियो एउटा पीडाबोध यथार्थको खोज ! हराएका मेरा नेपाली दाजुभाइ दिदीबैनीलाई खोज्ने यात्रा ! श्रमदानको अभियान मार्फत अब हामी जोडिएका छौँ ! पूर्व र पश्चिमलाई जोड्ने एउटा संकल्प ! अब मैले भन्नु पर्ने र भनिरहनु पर्ने केही रहेन अब राज्यको आँखा त्यता दौडनु पर्छ ! दार्चुला नेपालको अभिन्न र प्रमुख स्थानहरु मध्ये एक बन्नु पर्छ !
 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ