- असार ०६, २०८०
देउखुरी (दाङ)। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार भएको बताएका छन्।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य नभएकाले निष्पक्ष छानबिन गरी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।
उनले न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे।
‘जेनजी प्रदर्शनका क्रममा उठाइएका माग जायज छन्। युवाको मागलाई सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी छ। सुशासन र भ्रष्टाचारविरुद्धको माग राख्दै गरिएको प्रदर्शनमा स्वार्थी तत्वले घुसपैठ गरेर इतिहास मेटाउने प्रयास गरियो’, महासचिव पोखरेलले भने, ‘युवाको आकाङ्क्षा बुझेर मुलुकमा सुशासन कायम गरी कानुनी राज्य स्थापनामा सबैको सहकार्य र समन्वय आवश्यक छ।’
जेनजी प्रदर्शन दबाउन प्रहरी र न्यायालयको कुनै भूमिका नभएको उनले धारणा राखे। न्याय प्रणालीलाई कमजोर बनाएर देशलाई कमजोर बनाउन खोजिएको उनको भनाइ छ।
प्रदर्शनका नाममा प्रहरीका हतियार लुटिनुका साथै कैदीबन्दी बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले आमनागरिकमा भय र त्रास फैलाएको बताए।
उनले भने, ‘स्थानीय तह, मातपोत, अदालत, यातायात, राजस्व कार्यालयलगायत सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ। गत भदौ २३ र २४ गतेको घटनाको छानबिन तटस्थ र निष्पक्ष ढङ्गले गर्नुपर्दछ।’
टिप्पणीहरू: