शुक्रबार, १६ माघ २०८२

एमालेका पूर्वसांसदले गरे पार्टी परित्याग


काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् । पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले जनताको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन् ‘अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा,सुशासन, विकास र समृद्धी राजनीतिको अनिवार्य शर्त हो,’ उनले भनेका छन्, ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’

उनले आजसम्म आफूलाई अवसर र जिम्मेवारी दिनेलाई धन्यवाद दिँदै सुशासन, विकास र रोजगारीका साथ मुलुकलाई समृद्धीको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाका साथ सधैँ काम गरिरहने बताएका छन् ।

उनी यसअघिको निर्वाचनमा रुपन्देही ५ बाट निर्वाचित भएका थिए । त्यस्तै उनी तिलत्तोमा नगरपालिकाका पूर्वमेयर पनि हुन् । लुम्बिनी एमालेमा पछिल्लाे समय समस्या सुरु भएकाे छ । महासचिव शंकर पाेखरेल र उपाध्यक्ष विष्णु पाैडेलबीच टकराव बढ्दै जाँदा कार्यकर्तामा वितृष्णा बढेकाे छ ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ