शनिबार, १४ कात्तिक २०८३

बाढीपहिरोले पाँच ठाउँका सडक अवरुद्ध


काठमाडौँ । बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका प्रहरी प्रधानकार्यालयले जनाएको छ । 

यसैगरी, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा राति सवारी आवागमन बन्द गरिएको छ ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पुल बुढीगण्डकी बाढीले बगाएपछि ती दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ । 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ