सोमबार, २६ साउन २०८२

कुलिङ पिरियडमा त्रुटि: छानबिन समितिको प्रतिवेदन कार्यान्वयनबारे सभामुखले गरे छलफल


फाइल तस्बिर

काठमाडौँ। सभामुख देवराज घिमिरेले आज सङ्घीय निजामती सेवा विधेयक, २०८० मा भएको त्रुटिका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गरेका छन्।

उनले सत्तारुढ एमाले मुख्य सचेतक महेशकुमार बर्ताैला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग अलग अलग छलफल गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको बताउँदै उनले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने भएकाले त्यस विषयमा दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे।

राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको जानकारी दिँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे। नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन्।

सभामुखले गत शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए। सभामुखले मङ्गलबार पनि अलग अलग सुझाव लिएर संयुक्त बैठक गर्ने तयारी गरेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ