- असार ०६, २०८०
काठमाडाैँ। ‘दाजु मैले एक भोट मागेँ है’, कालोपुलस्थित हिरारत्न पार्टी भेन्युमा मतदानका लागि पत्रकारहरु लाइन बसेकै बेला ‘नमस्कार’ गर्दै दिनेश सिटौलाले भोट मागे। भोटिङ सुरु भइसकेको थिएन। तर, लाइन बसेका पत्रकारहरु मतदानको प्रतिक्षामा थिए।
‘मैले त यसपाली तपाईंलाई भोट दिन मिल्दैन। मैले त डब्बु क्षेत्रीलाई दिनुपर्छ’, मैले भनेँ।
‘हस दाइ हस’, हाँस्दै उनले भने। फेरि नमस्कार गरे र उनी अन्य मतदाता भएतिर लागे।
०७६ सालमा भएको चलचित्र पत्रकार संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार थिए- दिनेश सिटौला, डब्बु क्षेत्री, गिता अधिकारी र अनिल यादव। डब्बुजी र म एउटै मिडिया हाउसमा काम गर्ने भएकाले डब्बुजीका लागि भोट माग्दै हिँडेकाे थिएँ म। भोट माग्ने क्रममै भेट भएको थियो दिनेशसँग।
मैले जति जनासँग डब्बुजीका लागि भोट मागेको थिएँ, उनीहरु हाकाहाकी भन्थे- ‘हाम्रो भोट त दिनेशलाई।’ दिनेश त्यति धेरै लोकप्रिय होलान् भन्ने मलाई लागेको थिएन। तर, माहोल उनकै पक्षमा थियो। भोटिङ जारी थियो। उम्मेदवारहरु भोट दिन लाइन बसेकालाई नमस्कार गर्न व्यस्त थिए। नमस्कार गर्ने उम्मेदवारकै भिडमा रहेका दिनेशलाई मैले छेउमा लगेर भनेँ, ‘मैले त तपाईंलाई भोट दिन मिल्दैन तर, चुनाव तपाईंले जित्नुहुन्छ।’ दाइले यति भनेपछि पुग्यो। उनी फेरि मतदाताकै बीचमा पुगे।
निर्वाचनको परिणाम सार्वजनिक भयो। प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मत ल्याएर दिनेश अध्यक्षमा निर्वाचित भए।
दिनेशभन्दा म अलि पाको पुस्ताकाे भएकाले पनि होला, हाम्रो भेट बाक्लो भएन। संघले गर्ने कार्यक्रमहरुमा प्राय भेट हुन्थ्यो। मृदुभाषी दिनेश देख्नेबित्तिकै ‘दाजु नमस्कार’ भन्दै आइपुग्थे। उनी सिनेमा टाइम्स अनलाइनमार्फत चलचित्र पत्रकारिता गर्थे तर, राजनीतिक चेत बढी थियो। ‘दाइको अस्तिको आर्टिकल पढेको थिएँ, गज्जब थियो’, मैले लेखेको आर्टिकलको विषयवस्तु मन पर्नुको कारण पनि भन्थे। म मख्ख पर्थेँ। शायद प्राय भेटमा मेरा आर्टिकलका प्रसंग उठाउने कारण पनि होला मलाई उनी अरुभन्दा फरक लाग्थ्यो।
कर्ली कपाल, दाह्री, गेटअप हल्का फरक हुन्थ्यो। पत्रकारभन्दा पनि मोडल जस्ता।
अनामनगर आसपास प्राय भेट हुन्थ्यो। भर्खर पत्रकारिता सुरु गरेकादेखि केही वर्ष पार गरेकाहरुसँग समेत उस्तै सुमधुर सम्बन्ध राख्ने उनको विशेष खुबी थियो। आलोचकहरुका बीचमा पनि उनी निकै लोकप्रिय थिए।
चलचित्र पत्रकार संघमा अध्यक्ष निर्वाचित भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘हाम्रो पार्टीले अध्यक्ष जित्यो’ भनेर दाबी गरेको थियो। पत्रकारहरुको चुनाव सकिएपछि हरेक संगठनले आफ्ना पार्टीका उम्मेदवारले कहाँ-कहाँ जिते, कहाँ हारे हिसाब राख्थे चलन हुन्छ।
संघको निर्वाचनपछि भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बनेका बालेन शाहको चुनावी अभियानमा खटिएको देखेपछि मैले सोधेको थिएँ, ‘तपाईंलाई त राप्रपाले हाम्रो अध्यक्ष भन्थे।’ दिनेशले जोशका साथ भन्थे, ‘राखुन् दाइ केही फरक पर्दैन। अब नयाँ नेपाल बनाउनुपर्छ।’ यो संवाद हुँदा बालेन काठमाडौँ महानगरपालिकाका मेयर भइसकेका थिए। मैले सोधेँ, ‘बालेनले नयाँ नेपाल बनाउँछन् त?’ ‘दाइ चुनाव सकिएपछि भेट भएकै छैन। हामीले जितायौँ, सकियो’, उनले भन्थे।
प्रतिनिधिसभा निर्वाचन घोषणापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्री घोषणा गरेका बालेन शाहको चुनावी अभियानमा फेरि झुल्किए दिनेश। बालेनको टोलीमा हिँड्दा हिँड्दै अछाम पुगेपछि ढलेको खबर आउँदा सुरुमा त लागेको थियो, ‘धपेडीका कारण थकानले होला।’
सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा रहँदै उनीनिकट रहेकाहरुले अनौपचारिक जानकारी दिएका थिए, ‘बाँच्ने सम्भावना न्यून छ।’ सामाजिक सञ्जालमा धेरैले भगवानसँग प्रार्थना गरेकाले पनि उनको स्वास्थ्य स्थिति जटिल रहेको अनुमान गरिएको थियो।
आइतबार मध्यान्ह अस्पतालले जारी गरेको विज्ञप्तिले उनको स्मृति मात्रै बाँकी रहेको पुष्टि गर्यो। उनले सोचेजस्तै नयाँ नेपाल बन्छ/बन्दैन थाहा छैन। नयाँ नेपाल बनाउनुपर्छ भन्ने दिनेशको हुटहुटीलाई राजनीतिक नेतृत्वले महसुस गरे भने यो असम्भव छैन। आशा गरौँ, नयाँ नेपाल बनाउने अभियानमा हिँडेको एउटा योद्धा दिनेशको सपना पूरा गर्नका लागि आगामी नेतृत्वले पक्कै पहल गर्नेछ। यदि त्यसो भयो भने दिनेशको आत्माले पक्कै शान्ति पाउनेछ। अलबिदा दिनेश सिटौला!
टिप्पणीहरू: