आइतबार, ०२ कात्तिक २०८२

निर्वाचनका लागि राजनीतिक दलहरूसँग संवादको सुरुआत भएको छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्वाचन गराउनको लागि राजनीतिक दलहरूसँग संवादको सुरुआत भएको बताएकी छन्।

आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसहित चार वटै सुरक्षा निकायका प्रमुखसँगको छलफल भएको थियो। छलफलमा गृहमन्त्रीसहित अन्य मन्त्रीहरूसमेतको उपस्थिति थियो।

छलफलपछि उनले भनिन्, ‘चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा आज शीतल निवासमा गम्भीर छलफल गरेका छौँ। चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको छ।’

सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएको बताइन्।

उनले भनिन्, ‘चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ। राजनीतिक दलहरूसँग संवादको सुरुआत भएको छ। फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ। तयारी अझै द्रुत गतिमा अघि बढाइँदै छ।’

सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन अपिल गरेकी छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ