मङ्गलबार, ०५ जेठ २०८३

सगरमाथा आरोही अनिता कार्कीलाई देवको ग्रुप साथ


काठमाडौँ । अन्तर्राष्ट्रिय फेन्सिङ खेलाडी तथा सशस्त्र प्रहरी बलमा आबद्ध अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।  कार्कीले आइतबार बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन् । आफ्नाे यो सफलतामा नारायण बल्लभ पन्त फाउण्डेशन र देव ग्रुपको विशेष सहयोग रहेको अनिता कार्कीले बताइन् ।

'गाग्रीका लागि आरोहण'  भन्ने मुल नाराका साथ उनले यो ऐतिहासिक यात्रा पुरा गरेकी छिन् ।  

नेपालका ग्रामीण महिलाहरूले स्वच्छ खानेपानीका लागि दैनिक रूपमा भोग्नुपर्ने चरम संकट र शारीरिक कष्टलाई विश्वव्यापी रूपमा उजागर गर्ने उद्देश्यले कार्कीले यो साहसिक कदम चालेकी हुन् । उनले आफ्नो साथमा परम्परागत नेपाली तामाको गाग्री बोकेर सगरमाथाको शिखरमा पुग्दै ती 'अदृश्य आरोही' ग्रामीण महिलाहरूप्रति सम्मान प्रकट गरिन्, जो परिवारका लागि पानी जुटाउन दैनिक रूपमा पहाडका कठिन भूभागमा यात्रा गर्न विवश छन् ।

सशस्त्र प्रहरी बलको खेलकुद शाखामा कार्यरत कार्कीले यस आरोहणका लागि लामो समयदेखि सघन शारीरिक प्रशिक्षण र प्राविधिक तयारी गर्दै आएकी थिइन् ।  विशेष गरी नेपालका मध्य पहाडी क्षेत्रमा मनसुनपछि हुने पानीको अभाव र जलस्रोत व्यवस्थापनको आवश्यकतालाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउनु यस अभियानको मुख्य लक्ष्य रहेको छ ।  नारायण बल्लभ पन्त फाउण्डेशन, देव ग्रुप र टेक  एक्सपिडिसनको व्यवस्थापकीय सहयोगमा सम्पन्न यस आरोहणले नेपाली खेलकुद र सामाजिक अभियानको क्षेत्रमा नयाँ इँटा थपेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ