- असार ०६, २०८०
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरमाथि सरकारले अंकगणितीय खेल खेलेकाे आरोप लगाएकाे छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बाेल्दै रास्वपा सांसद शिव नेपालीले उपसभामुखलाई हटाउने खेलले लाेकतन्त्रकाे अपमान गरेकाे बताए।
‘नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय गर्याे, अब आदिवासी जनजाति समुदायकी छाेरी उपसभामुख माननीय इन्दिरा रानामगरमाथि अंकगणितीय खेल खेल्दैछ। याेभन्दा ठुलाे लाेकतन्त्रकाे अपमान के हुनसक्छ?’, उनले भने।
उपसभामुख रानाले लेखेकाे भनिएकाे पत्र कहिँकतै दर्ता र कार्यान्वयन नभएको भन्दै उक्त पत्र १७ महिना लुकाएर बदनियतपूर्वक सार्वजनिक गरिएकाे उनले दाबी गरे।
सांसद नेपालीले उपसभामुख गलत देखिएकाे भए त्यसैबेला किन कारबाही गरिएन भन्दै प्रश्न गरे।
‘उपसभामुखज्यूले २०७९ फागुन १४ गते एउटा सामान्य पत्र, एउटै कार्यक्रममा अन्तर्वार्ताकाे मिति मिलाइदिनुस् भन्ने बनेकाे थियाे।
त्यो पत्र कहिँकतै दर्ता छैन। कार्यान्वयन भएको पनि छैन। भिसाकाे लागि सिफारिस पनि छैन। तर, त्यसलाई १७ महिना लुकाएर बदनियतपूर्वक सार्वजनिक गरियो,’ उनले भने, ‘यदि त्यो गलत थियो भने त्यसैबेला कारबाही किन भएन? किन लुकाइयाे? किनभने त्यतिबेला संवैधानिक निकायहरूको चर्चा थिएन। अहिले किन राजनीतिक हतियार बनाइयो?’
टिप्पणीहरू: