सोमबार, ०३ कात्तिक २०८२

सांस्कृतिक अनुसन्धान र सिलायात्राको सन्दर्भ


सामाजिक धरातल , सांस्कृतिक पर्यावरण र राजनीतिक सत्ससङ्गका असरले आलोडित हुँदा साहित्यकारले आफ्नो बौद्धिक क्षमता , अध्ययन , ज्ञान , अनुभव ,अनुभूति अभिरुचि , समय , साधन  र स्रोत माध्यमबाट लेख्यविषयको उद्देश्य र त्यसले समाजमा पार्ने सकारात्मक दीर्घ-असरको तह निर्धारणसँगै लेखन-यात्रा तय गर्नको लागि सिलायात्रा आरम्भ गर्दछ । त्यसरी सिलायात्रा गर्न रुचाउने सत्पात्र हुन्- कमल अर्याल ।

पूर्वप्रकाशित कृतिहरूमा कमल अर्यालका 'तिमी आउनु अघि (२०७१ )  , तिमी आएपछि ( २०७३ )  र लौरौ ( २०७५ )  आदि गजल सम्बन्धी कृतिहरू हुन् भने 'उत्तरकी अप्सरा ( २०७५ )' चाहिं यात्रापरक  र 'सिलायात्रा ( २०८२ )' भर्खरै बजारमा आएको अनुसन्धानमूलक निबन्धात्मक आत्मपरकशैलीमा लिखित शोधपरक कृति हो । यस प्रकारका कृतिमा अनुसन्धानले निबन्धको निकट पुर्याउँछ भने नियात्राद्वारा यात्राका क्रममा भोगिएका अनुभूति , दृष्यावली , शोध-खोज र   सोधपुछका आधारमा प्राप्त सत्य-तथ्य विवरणको अभिव्यञ्जनात्मक लयमा विचार सुग्रथन गरिन्छ ।नियात्रा र निबन्धमा शैलीका हिसाबले केही फरक पनि पार्दछ । निबन्धको व्युत्पत्तिले भन्दा निष्कर्षतया बन्ध्यते इति निबन्ध: अर्थात् निष्कर्षकै रूपमा जुनवस्तुसत्यलाई प्रकटन गरिन्छ त्यो निबन्ध हो  । त्यसै गरी प्रकर्षतया बन्ध्यते इति प्रबन्ध अर्थात् विशिष्ट तरिकाले आत्मपरक वा वस्तुपरक शैली र शिल्पमा  जुनवस्तुतथ्यलाई उजागर गरिन्छ त्यो निबन्ध हो ।
    
  अनुसन्धान वा शोधखोजका क्रममा निबन्धकार कमल अर्यालले निकै दौडधूप गरेका छन् । धर्म , संस्कृति, इतिहास , पुरातत्त्व र प्रकृतिविद् वा सम्बन्धित विषयमा जानकारी राख्नेहरूलाई भेटेर तार्किक प्रश्नहरू सोधेका छन् । आएका उत्तरलाई टिपेका छन् । तिनै ठाउँविशेषका बारेमा लेखिएका ग्रन्थहरूको खोजी र अध्ययन गरेका छन् । बडो परिश्रमपूर्वक पुस्तक तयार पारेर पुस्तकको नाम चाहिं सिलायात्रा चयन गरेका छन् । सिला र यात्रा वा सिलाको लागि यात्राको विग्रहबाट पनि अर्थ बस्दैन । प्रकरणद्वारा अर्थ साधिने हुँदा  'शिला' आएर मगजमा ठोकिन्छ जसको अर्थ  'पाषाण , पत्थर , ढुङ्गो अथवा  दहिलाका तल्लापटिका ठेला' समाउन पुगे पनि अर्थ राम्ररी बस्दैन । शिलापुष्प ( शिलाजीत ) , शिलाखण्ड ( ढुङ्गाको ठूलो टुक्रो ) , शिलान्यास ( विधिपूर्वक जगमा राखिने ढुङ्गो ) , शिलाक्षर ( ढुङ्गा खोपेर लेखिने अक्षर ) जस्ता शब्दहरूले अर्थको निकट पुर्याउँदैनन् ।

 शिला र सिलाको अर्थान्तरलाई छाडेर कृतिका भूमिकाकारले सोझै 'बाली उठाएपछि बाँकी रहेका अन्नका बाला , कोसा , घोगा , गेडा आदि खोज्ने काम हो सिलाखोज ।' भनेर अर्थ्याएका छन् र सिलाले दिने अर्थ-रस-तत्व पनि यही हुन आउँछ ।इतिहासकारहरूले लेखेर वा लेखिनसकिएका वा लेख्न बाँकी रहेका अवशेषलाई कमलले उठाएकाले सिलाखोज वा सिलायात्रा कृतिको नाम राखिनु स्वाभाविकै हो । यो सिलायात्रामा समावेश गरिएका प्राकृतिक , भौगोलिक, धार्मिक , सांस्कृतिक , पुरातात्त्विक र सामाजिकरूपले मात्र नभई पर्यटकीय दृष्टिकोणले समेत चासो लिइने निम्न शीर्षकहरूबाट अवगत गर्न सकिन्छ । जस्तै "लौरीघोल यसका सन्दर्भहरू , कयरको कनकन , उपरदाङ्गढीलाई खोज्दै जाँदा , कङ्कालीकोटको सेरोफेरो , गायत्री हरिहर मन्दिर : एक परिचर्चा , जुटपानी कालिका मन्दिर , चित्रसारीलाई चियाउँदा , धर्मधामको नालीबेली , एक प्रतिनिधिमूलक चरित्र , मसानघाट र जीवन , रत्ननगरभित्रका चार मन्दिर : एक परिचय " जस्ता एघारवटा शीर्षकहरू चयन गरिएका छन् । 

 रत्ननगर वाङ्मय प्रतिष्ठानबाट प्रकाशित यस कृतिमा संथाका अध्यक्ष एवं सुप्रसिद्ध निबन्धकारको कृतिमाथिको छोटो र समीक्षासहितको प्रकाशकीय मन्तव्य रहेको र समालोचक लक्ष्मण अर्यालको सारपूर्ण भूमिकाले कृतिको ओज थपिएझैं लाग्दछ । चित्रसारीदेखि आसपासका क्षेत्रहरू हुँदै उपरदाङ गढीसम्म , कङकालीकोटको सेरोफेरोदेखी धरमधा हुँदै कयरखोला , लौरीघोल र देवघाटसम्मको छेउछाउसमेतका आञ्चलिक परिवेशको परिक्रमामात्र रएको छैन अपितु यिनीहरूको ऐतिहासिकता , धार्मिकता , प्राकृतिकता र पुरातात्त्विकतालाई खोतलखातल गरी उजागर गरिएको छ । 

  साह्रै सरल , सरस र सहज कुतूहलता र जिज्ञासाले भरी आत्मपरक एवं प्रश्नोत्तर शैली-शिल्पमा लेखिएकाले विद्यार्थी, प्राध्यापक , पर्यटन-व्यवसायी , अभिसन्धित्सुलगायत   सबैखाले पाठकहरूलाई प्रियकर लाग्ने बनाइएको छ । यति सुन्दर कृति तयार पार्ने कमल अर्याललाई हृदयदेखि नै धन्यवाद दिंदै आसन्न दीपावली र छठपर्वको विशेष शुभकामनासहित लेखनी थाम्दछु । सर्वे भवन्तु सुखिन: ...!!!
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ