बिहिबार, ३० असोज २०८२

सम्झाैता गरेर काम नगरी अलपत्र पारिएका ठेक्का सम्झाैता ताेड्न सुरु


काठमाडाैं । सरकारले ठेक्का सम्झौता गरेर पनि वर्षाैसम्म काम नगरी अलपत्र पारिएका सिँचाइका ठेक्का तोड्न सुरु गरेकाे छ।

बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने भएकाे छ ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्झाैता ताेड्ने जानकारी दिएकाे हाे ।

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो। ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ। एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएकाे बताए।

ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन नपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ।

सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण वहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन्। त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका कम्पनीका नाम, सम्बन्धित निकाय, मुख्य जिम्मेवार व्यक्ति तथा कालोसूची अवधिसहितको विवरण सार्वजनिक गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ