- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैँ। ज्योतिषीले ६ पटक प्रधानमन्त्री हुने योग छ भनेर भनिदिएपछि छैटौँ पटक प्रधानमन्त्री हुने लोभमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बुईमा बोकेर बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेलामा बुद्धि नपुर्याउँदा अहिले सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस थिल्थिलो अवस्थामा पुगेको छ।
प्रजातान्त्रिक दाबी गर्ने तर, कम्युनिष्ट पार्टीहरुको साथ नपाएसम्म चुनाव लड्नेसम्म हिम्मत नगर्ने कांग्रेसले पछिल्लो समय आगामी चुनाव एक्लै लड्ने दाबी गरे पनि जनताले पत्याइरहेका छैनन्। ‘कांग्रेसले अब एक्लै उभिने सामर्थ्य गुमाइसक्यो। चुनाव लड्नदेखि सरकारमा जानसमेत कम्युनिष्टहरुको वैशाखी चाहिन्छ’, स्वयं कांग्रेस कार्यकर्ताहरुले नै भन्ने गरेका छन्।
सभापति देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मा दिएर आफू टाढा बसे जस्तो गरे पनि कार्यवाहक खड्कामार्फत आफ्नै नीति लादिरहेका छन् देउवा। त्यसो नहुँदो हो त महाधिवेशन कहिले गर्ने, कसरी गर्ने, किन गर्ने, गर्ने कि नगर्ने? जस्ता विषयमा दुई महिना खेर फाल्ने थिएन।
कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने अडान राखे पनि देउवा पक्षीय नेताहरु सकेसम्म महाधिवेशन धकेल्ने योजनामा छन्। अहिले नेपाली कांग्रेस जुन गतिमा अगाडि बढ्न खोजेको छ, यसले कांग्रेसलाई गति दिने संकेत देखिँदैन, थप कुँजो बनाउने निश्चित छ।
सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनका लागि भदौ २३ गते जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर १९ जना युवा मारिए। निर्दोष युवाहरु गोली लागेर मारिनुमा तत्कालीन सरकारकै कमजोरी हो वा घुसपैठ जाँचबुझ समितिले अनुसन्धान जारी राखेकाले केही दिनमा थाहा होला।
देउवाले गरेका गल्ती
१९ जना युवा मारिइसकेपछि देउवाले बुद्धि पुर्याएका थिए भने अहिले मुलुककाे प्रधानमन्त्री देउवा नै हुन्थे, संसद् जीवीत हुन्थ्यो। महाधिवेशनको रडाको दुई महिनासम्म मच्चिने पनि थिएन र मुलुकमा आजको जस्तो अराजक स्थिति पनि हुने थिएन।
जब प्रहरीको गोलीबाट १९ जना मारिएको समाचार सार्वजनिक भयो, तब तत्कालै देउवाले भन्न सक्नुपर्थ्याे, ‘१९ जना युवाको हत्या गर्ने ओली सरकारलाई कांग्रेसले समर्थन गर्न सक्दैन।’ तर, देउवाले त्यसो गरेनन्। बालुवाटारमा बसेर प्रहरी प्रमुख, सेना प्रमुखलगायतलाई आदेश दिइरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कुरा सुनिरहे र ओलीकै समर्थनमा केही महिनापछि प्रधानमन्त्रीको कुर्सीमा बस्न पाइन्छ भनेर लट्ठ परिरहे।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले २३ गते बेलुका निकालेको एमाले–कांग्रेसको गठबन्धन अन्त्य गर्नुपर्ने सुझाव उनले सुन्नै चाहेनन्। आफैँ गृहमन्त्री हुँदा गोली लागेर बालक मारेको सन्दर्भमा ‘गोलीको आँखा’ हुँदैन भनेर टिप्पणी गरेका देउवाले २३ गतेको घटनालाई पनि सामान्य रुपमा बुझे। ‘पालो पुगेको दिन ओलीले छाड्छन् अनि खाउँला भनेर बसिरहे।’
त्यसको भोलिपल्ट भदौ २४ गते आक्रोशित भिडले भौतिक पूर्वाधार ध्वस्त पार्न थालेपछि बल्ल देउवाको होस खुल्यो। जतिबेला देउवा आफैँ श्रीमती आरजु राणासहित आन्दोलनकारीको घेरामा परिसकेका थिए। पञ्चायतकाल बेहोरेर आएका देउवाले सायद पहिलो पटक होला त्यो अत्यासलाग्दो परिस्थितिको सामना गरे। यति भैसक्दा पनि कांग्रेसलाई सरकारबाट फिर्ता गराउनेबारे उनले सोचेनन्। शेखर कोइरालाको निर्देशनपछि मात्रै कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिए। परिस्थिति काबुभन्दा बाहिर गएको बुझेपछि प्रधानमन्त्री ओली आफैँ सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट भागे।
के गर्नु पर्थ्याे देउवाले?
जतिबेला प्रहरीको गोली लागेर १९ जना युवा मारिए, देउवाले तत्कालै पार्टीको बैठक राखेर सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्थ्याे। सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनकारीका मागका विषयमा आफू गम्भीर रहेको मात्रै भनिदिएका भए प्रधानमन्त्रीका रुपमा देउवाको विकल्प थिएन।
आन्दोलनका क्रममा भएका दमनबारे छानबिन गर्ने, घाइतको उपचारमा राज्यले ध्यान दिने र आन्दोलनकारीका माग सम्बोधन गर्ने भनिदिएका भए देउवालाई प्रधानमन्त्री बनाउनका लागि संविधानका कुनै छिद्र खोतलिरहन पर्ने थिएन। उनी प्रधानमन्त्री स्वभाविक दावेदार थिए। संसद्ले देउवालाई प्रधानमन्त्री बनाउँथ्यो र उनले चाहेका तुलनात्मक स्वच्छ छवि भएका व्यक्तिलाई मन्त्रीमा सहभागी गराउन सक्थे। राष्ट्रले खर्बौँको क्षति बेहोनुपर्ने नै थिएन।
देउवाले सहि समयमा सहि निर्णय गर्न नसक्दा अहिले कांग्रेस पार्टी आफैँ लथालिङ्ग अवस्थामा पुगेको छ। कुनै पनि नेता कार्यकर्ताले आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन्। कहाँ, कसले, कतिबेला प्रहार गर्ने हो? एकखालको त्रासमा छन्। शीर्ष नेतृत्व चरम भ्रष्ट भएको भाष्य स्थापित हुँदै गर्दा तल्लो तहका कार्यकर्तासमेत जेनजीका अनुहार सम्झेर त्रस्त हुनुपर्ने अवस्थामा छन्।
टिप्पणीहरू: