शुक्रबार, २६ मंसिर २०८२

निर्वाचनका लागि गठबन्धनकाे वातावरण बनाउँदै कांग्रेस-एमाले


काठमाडौं। आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन हुने सम्भावना बढेको छ।

कांग्रेस–एमाले गठबन्धनलाई जेनजी आन्दोलनले अस्वीकार गरे पनि फेरि पुरानै अनुक्रम दोहोरिने सम्भावना बढेको छ।

गत साता श्रीमती राधिका शाक्यसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणालाई भेटेर फर्किएका एमाले अध्यक्ष ओलीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा देउवाको प्रशंसा गरे। ‘लामो इतिहास बोकेको पार्टी हो नेपाली कांग्रेस’, ओलीले भने, ‘देउवासँग सहकार्य हुन्छ कस्तो सहकार्य अलि पछि थाहा पाउनुहुन्छ।’

उनको सहकार्यको संकेत प्रतिनिधिसभा निर्वाचन नै भएको एमालेका एक नेताले बताए। ती नेताका अनुसार आगामी निर्वाचनमा कांग्रेस र एमालेले निश्चित क्षेत्रमा कार्यगत एकता गर्ने भएका छन्।

कांग्रेस र एमालेका प्रभावशाली नेताले उम्मेदवारी दिएको ठाउँमा आ-आफ्नो उम्मेदवार नउठाएर एकअर्कालाई सहयोग गर्ने योजना ओली र देउवाको रहेको छ। यद्यपि यो निर्णय कार्यान्वयन उती सहज भने छैन। देउवाले भन्दैमा कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा गठबन्धनका लागि तयार हुने सम्भावना कम छ। एमालेमा पनि ओलीले भन्दै मानिहाल्ने स्थिति छैन।

जेनजी देखाएर सहमति

आगामी निर्वाचन कांग्रेस-एमालेका लागि त्यति सहज छैन। सुशासन र संविधान संशाेधन गर्ने बाचासहित सरकार एमाले-कांग्रेसले गरेको गठबन्धन जेनजी पुस्ताले अस्वीकार गरिसकेको छ।

सरकारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा देउवा दम्पतीले कुटाई खाएका थिए भने तत्कालीन प्रधानमन्त्री ओली ज्यान जोगाउनकै लागि सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट भागेका थिए।

जेनजी पुस्तासँग दूरी बढाएका कांग्रेस-एमाले दुवै पार्टीका शीर्ष नेतृत्वले जेनजीलाई बहाना बनाएर गठबन्धनको बाध्यताको कुरा गर्नेछन् र कार्यकर्ताले पनि त्यही अर्थमा बुझ्नेछन्। ‘कांग्रेसकै भलाइका लागि पनि गठबन्धन आवश्यकता हो भने हामी हाम्रा मतदातालाई प्रष्ट पार्ने छौं’, कांग्रेसका एक नेताले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ