- भदौ ०१, २०८१
काठमाडौं। नेपाली हास्य मनोरञ्जनलाई देशका विभिन्न सहरसम्म विस्तार गर्ने उद्देश्यसहित ‘रोयल ब्लु कमेडी उत्सव २०८३’ आयोजना हुने भएको छ। ग्लेज इन्टरटेनमेन्टको आयोजनामा आगामी कात्तिक ११ गतेदेखि १९ गतेसम्म देशका ६ सहरमा उत्सव सञ्चालन गरिनेछ।
उत्सवमा चर्चित हास्यकलाकारहरू सुमन कार्की, सुबोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्कीले दर्शकमाझ आफ्नो प्रस्तुति दिनेछन्। हास्यकलाकारहरूको प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कमेडी संस्कृतिलाई थप प्रवर्द्धन गर्ने आयोजकको लक्ष्य छ।
देशका विभिन्न सहरमा प्रत्यक्ष हास्य मनोरञ्जनको अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको उत्सवले स्थानीय दर्शकलाई आफ्नै सहरमा चर्चित हास्यकलाकारहरूको प्रस्तुति हेर्ने अवसर प्रदान गर्नेछ। साथै, नेपाली हास्यकलाकार र दर्शकबीचको सम्बन्धलाई थप नजिक बनाउँदै प्रत्यक्ष मनोरञ्जनका कार्यक्रमप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।
उत्सवको पहिलो कार्यक्रम कात्तिक ११ गते नेपालगन्जस्थित लिला प्यालेसमा हुनेछ। त्यसपछि कात्तिक १३ गते बुटवलको होटल पौवामा, कात्तिक १४ गते चितवनको भरतपुरस्थित होटल पौवामा र कात्तिक १५ गते पोखराको सभागृहमा कार्यक्रम आयोजना गरिनेछ। त्यस्तै, कात्तिक १७ गते बर्दिबासस्थित गौतम होटलमा तथा अन्तिम कार्यक्रम कात्तिक १९ गते इटहरीको लायन्स कम्युनिटी हलमा हुनेछ।
देशका ६ सहरमा आयोजना हुने यस उत्सवले नेपाली हास्य मनोरञ्जनलाई थप व्यापक बनाउनुका साथै प्रत्यक्ष प्रस्तुतिमार्फत कमेडी कार्यक्रमको बजार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
टिप्पणीहरू: