सोमबार, २७ असोज २०८२

बसन्त बस्नेतको ‘सिमसारा’लाई २ लाखको विमल गुरुङ कृति पुरस्कार


सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार इलाम निवासी बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ । निर्णायक समितिले सिफारिस गरेपछि पुस्तकालय संचालक समितिको सोमबार प्रेस विज्ञप्ती जारी गर्दै बस्नेतद्धारा लिखित ‘सिमसारा’ उपन्यसालाई ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो ।  

पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङकाअनुसार विमल गुरुङ कृति पुरस्कारकालागि आव्हान गरे अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएका थिए । प्राप्त भएका ती कृतिहरुमध्येबाट यसअघि श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यास विमल गुरुङ कृति पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए । 

 उक्त पुरस्कार आगामी कात्तिक १९ गते आयोजना हुने ३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा नगद राशी दुइलाख रुपैया, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने छ ।

पुस्तकालयद्धारा जारी विज्ञप्तीअनुसार ‘सिमसारा’उपन्यास पूर्वी नेपाल इलाम चारखोलको कथा हो । जसमा एक परिवारको विघटनको कथा बुनिएको छ । घरको मुल खाबो अर्थात घरमुलीले आफ्नी पत्निप्रति आकर्षण नदेखाएपछि पत्निमा रुमल्लिएको जीवनको अत्यासलाग्दो यात्रा, बाबु–आमाबिचको बेमेलले उनीहरूको सन्तानलाई बारम्बार लागिरहने बाछिटा उपन्यासका मूल विषय हुन् । उपन्यासमा मूलतः पारिवारिक मनोविज्ञान, चारखोलको चिहानघारी नजिक रहेको घरको परिवेश र यस स्थानका भौतिक–अभौतिक अवस्थाको चित्रण प्रमुख पक्ष हुन् । ‘सिमसारा’ पछिल्लो समयको सामाजिक यथार्थवादी उपन्यास भएकाले पुरस्कारको हकदार बनाईको विज्ञप्तीमा उल्लेख छ । 

 यसअघि पुस्तकालयले बेलायतका नरेश काङमाङको कविता संग्रह ‘तेप्लायु’ भारत दार्जिलिङका विजय कैलाशी राईको आख्यान ‘मित्याङ्सा’ गोरखाका चन्द्र गुरुङको कविता संग्रह ‘जव एउटा मान्छे हराउछ’ र इलामका प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शव्दथुम’ लाई सो पुरस्कार प्रदान गरिएको थियो ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ