आइतबार, २५ जेठ २०८२

बालेनका दुख: गणतन्त्रवादीले पत्याउँदैनन्, राजावादीले पनि विश्वास गर्न छाडे


काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह अहिले तनावमा छन् । सामाजिक सञ्जालमा असाध्यै ‘वाह वाही’ पाएका बालेन अहिले आफ्नै समर्थकले समेत आलोचना गर्न थालेपछि तनावमा परेका हुन् ।

उनको तनावको विषय बनेको छ, पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा जारी गरिएको जरिवाना पत्र ।

गत चैत्र १५ गते राजावादीले गरेको आन्दोलनका क्रममा सडकमा भएको फोहोर र भौतिक संरचनामा क्षति गराएको भन्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना गरेको थियो । उक्त पत्र सार्वजनिक भएलगत्तै बालेनका विषयमा राजावादीहरुले उछित्तो काढ्न सुरु गरेका छन् । पूर्वप्रशासक नवराज सुवेदीको संयोजकत्वमा भएको आन्दोलनका क्रममा भएकाे क्षतिको अभियोग पूर्वराजालाई लगाउन नहुने मत सामाजिक सञ्जालमा व्यापक भएको छ ।

चर्को गणतन्त्रवादी बन्न खोज्दा फसे

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उठेर जितेका बालेनका विषयमा कांग्रेस, एमालेलगायत दलका नेताकार्यकर्ताले निर्दलीय भन्दै बेला बेलामा व्यङ्ग्य गर्ने गरेका छन् । प्रदेश संरचना आवश्यक नरहेको अभिव्यक्ति दिने बालेन राजावादी नै हुन् भन्ने अपेक्षा स्वयं राजावादीले गरेका थिए ।

आफूलाई चित्त नबुझेको कुरा सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने तर, मिडियासामु प्रस्तुत हुने हिम्मत नगर्ने बालेको स्वभाव लोकतान्त्रिक देखिँदैन । उनको चरित्रलाई नै आधार बनाएर कांग्रेस, एमालेलगायतकाले राजावादी भनिरहेको बेला बालेनले पूर्वराजालाई नै पत्र काटेपछि उनी अहिले समस्यामा परेका छन् । गणतन्त्रवादीले त विश्वास गर्दैनन् नै राजावादीसमेत उनीविरुद्ध खरो ढंगले प्रस्तुत भएपछि राजनीतिक यात्रा कसरी अगाडि बढाउने भन्ने भेउ पाउन सकेका छैनन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो टिप्पणी गर्ने बालेन अहिले महानगरपालिकामा एक्लो भएका छन् । काठमाडौं टावरमा नक्सा पास गर्दा महानगरलाई नोक्सानी पुर्याएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाईंलाई अघोषित निलम्बन गरेका थिए ।

गुरागाईंलाई निलम्बन गरेलगत्तै कर्मचारीको तलब रोकिएपछि महानगरका कर्मचारी बालेनप्रति रुष्ट थिए । उपप्रमुख सुनिता डंगोललगायत बहुसंख्यक कार्यपालिका सदस्यले गुरागाईंलाई कार्यालयमा प्रवेश गराएपछि बालेन थप समस्यामा परेका छन् । पछिल्लो चार महिनायता महानगरपालिकाको कार्यपालिका बैठकसमेत बस्न सकेको छैन ।

कुमार बेनको योजना

चैत १५ गते राजावादीले गरेको आन्दोलनमा भएको भौतिक क्षतिका बारेमा अध्ययन गरेको महानगरले कसलाई पत्र पठाउने भन्नेमा छलफल गरेकाे थिएन । बालेनकै टिममध्येका एक कुमार बेनले पूर्वराजालाई पत्र काट्ने भने पनि महानगरीय प्रहरी प्रमुख राजु पाण्डेले पनि सहमति जनाएका थिए ।

जब काठमाडौं महानगरपालिकाले पूर्वराजालाई पत्र काट्दैछ भन्ने सन्देश प्रवाह भयो, बालेनले कुनै प्रतिक्रिया जनाएनन् । जब पत्र पूर्वराजाकै नाममा काटियो अनि सामाजिक सञ्जालमा राजवादीले चर्को आलोचना गर्न थाले । अहिलेसम्म पनि गाली गर्ने क्रम जारी छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ