- असार ०६, २०८०
काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधान संशोधनको नाममा वालेन्द्र शाह नेतृत्वको सरकारले नाटकमञ्चन गरिरहेको र परिवर्तनकारी शक्तिहरुमाथि मजाक गरिरहेको टिप्पणी गरेका छन् । उनले संविधान संशोधन कार्यदल नै खारेजको माग गरेका छन् ।
संविधान संशोधनजस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहले संविधानको तत्व नै नबुझेका व्यक्तिलाई यसको जिम्मा दिएर सुरुमै मजाक गरेकाे उल्लेख गर्दै अध्यक्ष साहले रास्वपा र वालेन शाहले संविधान संशोधनको नाममा नाटकमात्रै मञ्चन गरेको घट्नाक्रमले पुष्टि गरिसकेको बताए । साहले प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनको लागि बहसपत्र तयार गर्न गठित कार्यदलको वैधानिकतामाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका छन् । बालेन सरकारले संसद् छलेर सेनामार्फत शासन चलाएजस्तै संसद्लाई बेवास्ता गरेर सिंहदरबारबाट संशोधन कार्यदल बनाएर विधिको धज्जी उडाएको साहको गम्भीर आरोप छ ।
सोमबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा साहले संविधानमा साँच्चिकै सुधार र संशोधन चाहेको भए रास्वपा र वालेन शाहले राजनीतिक रुपमा अलिक गम्भीर विचारधारा र चेतना बोकेका अनि योगदान पुर्याएका व्यक्तित्वलाई यसको जिम्मा दिनसक्ने बताए । फिल्म र भिडिओ निर्देशनमा रुचि राख्ने व्यक्तिलाई संविधान संशोधनजस्तो गम्भीर विषयको भारी बोकाएर राष्ट्रिय राजनीतिमा नै कमेडी गरिरहेको टिप्पणी गरे । उनले असार मसान्तमा सकिने कार्यदलको म्याद अब नथप्न र तत्काल खारेज गर्न सरकारलाई सुझाव दिएका छन् । वालेन शाहले प्रधानमन्त्रीको सपथ खाएको तीन दिनपछि अर्थात २०८२ साल चैत्र १६ गतै नै असिम शाहको नेतृत्वमा ‘संविधान संशोधन बहस पत्र तयारी गर्ने कार्यदल–२०८२’ गठन गरिएको थियो ।
पूर्वमन्त्री साहले अहिलेको संविधानले देशलाई पार लगाउन नसक्ने कुरा आफूले संविधान जारी गर्दाको बखतमा नै बहिष्कार गरेर विद्रोहको विगुल फुसिकेको स्मरण गराए । उनले ६०१ संविधानसभा सदस्यमा आफूमात्र एक्लो सांसद रहेको र संविधानमा हस्ताक्षर नगरेको सुनाए । उनले भने, “यो संविधानले विभिन्न संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा हुँदैन र देशले सही दिशा समात्दैन भन्ने कुरामा ढुक्क भएर नै मैले संविधानमा हस्ताक्षर गरिनँ, त्यसबापत मैले पार्टीबाट साधारण सदस्यतापनि नरहनेगरि कारबाही भोग्नुपरेको थियो, तर आज एक दशक नबित्दै देश कहाँ पुग्यो ? सिस्टम नै खराब भएपछि रिजल्ट पनि खराब नै भोग्नुपर्छ । हामी त सिस्टम सुधारको पक्षमा छौं ।”
आजपाले सिस्टम सुधारको लागि दुई वर्षअघि नै तेस्रो जनआन्दोलन अपरिहार्य भन्दै सार्वजनिक घोषणा गरेको पनि उनले स्मरण गराए । जेनजीहरुले साहसिक कदम चालेर विश्वमै नभएको अद्धितीय क्रान्ति गरेर पूरानो सत्ता ढालेपनि संविधान जस्ताको त्यस्तै राख्ने नाममा फेरि देशलाई कालो दिनतर्फ फर्काएर दिशाहीन बनाईएको र अहिले संविधान संशोधनको नाटकमात्र रचिएको साहको आरोप छ । संविधान सुधार गरेर व्यवस्था नै व्यवस्थित् गर्ने अवसर आउँदापनि सुशीला कार्की र बालेन शाहले जानीजानी अवसर कुल्चिएर युवाहरुको बलिदानीको अपमान गरेको साहको आरोप छ ।
टिप्पणीहरू: