- भदौ १२, २०८१
काठमाडौं, गोकर्णेश्वर । ज्ञानलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर जीवनसँग जोड्ने उद्देश्यसहित सुरु गरिएको ‘हिमालय टु ओसियन’ किताब यात्रा गोकर्णेश्वरस्थित पिस एन्जल्स् स्कूलमा सफलतापूर्वक सम्पन्न भएको छ ।
लेखक तथा यात्री अशोक सिलवालको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न उमेर समूहका विद्यार्थीहरूसँग अत्यन्तै सौहार्दपूर्ण साक्षात्कार तथा अन्तर्क्रिया भएको थियो । सिलवालका तीन कृतिहरू ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’, ‘अप्प दीपो भवः’ र ‘श्रीलङ्का स्मृति’लाई केन्द्रमा राखेर संवाद गरिएको थियो । विद्यार्थीहरूसँगको अन्तर्क्रियामा किताबले दिने सन्देश तथा शिक्षण-सिकाइसँग पुस्तकको सम्बन्धबारे गहिरो छलफल भयो ।
विद्यार्थीहरूले किताबका कथा र सन्देशहरूलाई ध्यानपूर्वक सुनेर बुझ्ने र आफ्नै ढंगले व्याख्या गर्ने क्षमता देखाएका थिए, जसले कार्यक्रमलाई अझ विशेष बनाएको थियो ।
‘विद्यार्थीहरूले किताबमा रहेका सन्देशलाई ध्यानपूर्वक सुनेर बुझ्न सके । लेखकसँगको प्रत्यक्ष संवादले उनीहरूको सोच, अभिव्यक्ति र जीवनदृष्टि विस्तार गर्न ठूलो सहयोग पुर्याउँछ,’ कार्यक्रमबारे प्रधानाध्यापक राजेश कुमार बिष्टले भने ।
‘किताब पढिनुअघि नै त्यसको आत्मा सुन्न सक्ने विद्यार्थी भेटिनु लेखकका लागि ठूलो कुरा हो,’ लेखक सिलवालले खुशी व्यक्त गरे ।
‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ले सगरमाथालाई आधार बनाएर जीवनका संघर्ष, बाटा र मानव मूल्यतर्फ विद्यार्थीहरूलाई सोच्न बाध्य बनायो भने ‘अप्प दीपो भवः’ले ‘आफ्नो प्रकाश आफैँ बन्नुपर्छ’ भन्ने सन्देशमार्फत आत्मचिन्तन र चेतनाको महत्व उजागर गर्यो । ‘श्रीलङ्का स्मृति’ले यात्रामार्फत संसार बुझ्ने र फरक संस्कृतिहरू महसुस गर्ने दृष्टि प्रस्तुत गर्यो ।
कार्यक्रम किताब परिचयमा मात्र सीमित नरही विद्यार्थीलाई प्रश्न गर्न, सोच्न, महसुस गर्न र आफ्नै जीवन पढ्न प्रेरित गर्ने संवादात्मक प्लेटफर्मको रूपमा प्रस्तुत भएको थियो । विद्यालय परिवारले यस्तो कार्यक्रमले विद्यार्थीहरूको सृजनात्मक सोच, जीवनदृष्टि र पठन संस्कृतिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । यसअघि सुनौलो क्षितिज शिक्षालयमा पनि यस्तै कार्यक्रम भएको थियो ।
‘हिमालय टु ओसियन’ किताब यात्रा अभियान अन्य स्कूलहरूमा पनि विस्तार हुँदै जाने लेखकले बताए ।
टिप्पणीहरू: