- असार ०६, २०८०
काठमाडौँ। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवा विधेयककाे कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन्।
बुधबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले निजामती विधेयकमा केही तलमाथि भएकाे भन्दै छानबिनपछि जोसुकै दोषी भएपनि कारबाही हुनुपर्ने बताएका हुन्।
उपप्रधानमन्त्री सिंहले २०१७ सालमा गुमेको जनताको मौलिक अधिकार २०४६ सालमा प्राप्त गरिएको कसैले बिर्सिन नहुने बताए।
उनले भने, ‘१७ सालमा खोसिएको जनताको मैलिक अधिकार फिर्ता ल्याउन ३० वर्ष कुर्नु पर्यो। सर्वमान्य नेता गणेशमान सिंहको पहलमा ४६ सालमा प्राप्त गरेको बिर्सिनु हुँदैन। प्राप्त गरेको अधिकार सुरक्षित गर्न सक्नुपर्छ। संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरूले विरोध गर्नु उचित हुँदैन।’
उनले आफूहरू जनताको सेवाका लागि राजनीतिमा आएकाले आफ्नो धर्म भनेको जनताको सेवा गर्ने भएको बताए।
उनले भने, ‘सरकारको कामकारबाहीलाई जनताले हेरेर बसिरहेका छन्। जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्छ।’
टिप्पणीहरू: