- भदौ १२, २०८१
काठमाडौं । शिवराज बस्नेत ‘बशिरा’ अक्षरप्रेमीहरुका लागि परिचित नाम हुन् । अन्नपूर्ण पोष्ट दैनिकमा हरेक हप्ता लेख्ने गरेका बस्नेत फरक लेखकका रुपमा चिनिन्छन् । फरक यस अर्थमा कि उनका लेखमा राजनीतिक आशय हुँदैन । विचार भन्ने बित्तिकै प्राय राजनीति केन्द्रित विचार व्यक्त गर्ने नेपाली समाजमा बस्नेतले राजनीति भन्दा फरक विषयमा लेखिरहेका हुन्छन् । प्राय उनका लेख हरेक वर्ग र समुदायका लागि उत्प्रेरित हुन्छन् ।
उनै लेखक बस्नेतको आध्यात्मिक विचारहरू संग्रह ‘जस्तो सोच, उस्तै संसार’ पुस्तकको रुपमा आएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तकले मानव जीवनमा सकारात्मक सोचको महत्व मात्रै दर्शाउदैन, जीवनलाई हेर्ने पृथक दृष्टिकोण के हो ? आम सर्वसाधारणले बुझ्ने भाषामा लेखेका छन् । पुस्तकको अर्काे विषेशता भनेको एकपटक पढेपछि जो सुकैले सहजै बुझ्छन् । सरल भाषामा लेखिएको पुस्तक पढेपछि सकारात्मक सोच राख्नाले आफ्नै जीवन पनि सकारात्मक हुने सुत्रहरु सहजै भेट्छन् ।
पुस्तकभित्र ३३ वटा लेख संग्रहित छन् । सुन्दर भविष्यको चुरो, सफल हुने सूत्र : दम्भ होइन, कुशल नेतृत्व, सुखको तराजुमा दुःखको मानो, अचम्मको अदृष्य शक्ति, अर्थपूर्ण जीवनको अर्थ, ध्यानभित्रको दिव्य ज्ञान, सागरभित्रका मोतीहरू, असलभित्रका खराबहरू, भ्रममा बाँचेका खुसीको संसारलगायतका शीर्षकमा अनेक विषय छन् ।
लेखहरुको सार रहेको छ । ‘सकारात्मक सोच राखेर अघि बढ् तिम्रो जीवनकाल पनि उस्तै सकारात्मक हुन्छ ।’
जीवन विज्ञानका संस्थापक एवं मानव विकास विशेषज्ञ एलपि भानु शर्माले ‘जस्तो सोच, उस्तै संसार’लाई पृथक् पुस्तकको उपाधि दिएका छन् । उनले भूमिकामा लेखेका छन्, ‘आजका अधिकांश लेखन नकारात्मक र अँध्यारा पाटाहरूमा केन्द्रित भइरहेका बेला यो पुस्तकले उज्यालो र सकारात्मकताको वकालत गर्दछ । उर्वर विचारका शृंखलाहरू रहेको यो पुस्तकले पाठकलाई जीवनलाई नयाँ दृष्टिले हेर्ने अवसर प्रदान गर्छ ।’
पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले समाजलाई सही दिशा दिन यस्ता चिन्तनशील कृतिको खाँचो रहेको औंल्याएका छन् । उनले भूमिकामा लेखेका छन्, ‘हरेक मानिसको आआफ्नै सोच हुन्छ सपना हुन्छन् । ती साकार पार्न अनौपचारिक/औपचारिक अध्ययनलाई आधार मान्दै उनीहरू अघि बढेका हुन्छन् ।’
‘संसार बदल्ने सोच !’ शीर्षकमा पुस्तकका सम्पादक गोपीकृष्ण ढुंगानाले जीवनलाई लेखकले जन्मदेखि मृत्युसम्मको गतिशील यात्राका रूपमा व्याख्या गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘सही सोचले नै संसार बदल्छ । साहित्य एउटा यस्तो मञ्च हो, जहाँ जीवनका सुख–दुःख, हाँसो–आँसु र भोगाइहरूलाई शब्दमार्फत अभिव्यक्त गर्न सकिन्छ ।’
प्रहरी सेवाबाट निवृत्त भएपछि लेखकका रूपमा प्रस्तुत भएका बस्नेत गायक र गीतकार पनि हुन् । कुनै समय लोकदोहोरी गायनमा जमेका बस्नेतले प्रविधीले मान्छेको मष्तिष्कलाई थिल्थिलो बनाएर पुस्तकप्रति मोहभंग गराइरहेको बेला फरक खालको पुस्तक लेखेर पाठकलाई उपहार दिएका छन् । जुन पुस्तक पढ्दा कहिँ कतै ‘बोरिङ’ हुँदैन ।
टिप्पणीहरू: