- असार ०७, २०८०
काठमाडौँ। मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा नेपाली कांग्रेस, माओवादीसहित ७ दलका नेता कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्।
नवनियुक्त मुख्यमन्त्री सरोज यादवकाे नियुक्तिको विषयलाई लिएर मधेसका ७ दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन्।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टी प्रदर्शनमा उत्रिएकाे हाे।
उनीहरूले नाराबाजीसहित टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् भने मुख्यमन्त्री कार्यालयमा तोडफोडसमेत गरेका छन्।
प्रदर्शनकारीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय अगाडि पनि तोडफोड गरेका छन्। उनीहरू प्रदेश प्रमुखकाे राजीनामासमेत माग गरेका छन्।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि आइतबार ७ दलले संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए। तर प्रदेश प्रमुख भण्डारीले सोमबार बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रुपमा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरू विरोधमा उत्रिएका हुन्।
टिप्पणीहरू: